☰ open Loading... 19 April 2024|  

काठमाडौंका सीडीओ फेरिए, पराजुलीको ठाउँमा रिजाल
  | २२ भाद्र २०७८, मंगलवार १९:३१

काठमाडौं । गृहमन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले बतायो । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको महाशाखा तोकिनेछ ।

प्रायजसो सहसचिव एवम विभागिय प्रमुखको एक वर्षमा सरुवा हुने भए पनि पराजुलीको १० महिनामा नै सरुवा भएको छ । पराजुली यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।