☰ open Loading... 21 May 2024|  

बालविवाह मुक्त घोषणा
  | ३० भाद्र २०७८, बुधबार ०५:३३

नेपालगंज – राष्ट्रिय बालदिवसको अवसर पारेर बाँकेको जानकी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ गाउँपालिकाद्वारा मंगलबार आयोजित घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो ।

मधेशी समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा बालविवाहको कुरीति रहे पनि जिल्लामैं पहिलो बालविवाह मुक्त पालिका भएको छ ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बालविवाह सुन्यमा झार्न यो अभियानलाई निरन्तरता दिइने बताउनु भयो ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

त्यस अघि गाउँपालिकाको नहरचोकबाट शुरु भएको बालविवाह घोषणा र्याली मानपुरस्थित विद्यालयमा पुगि सभामा परिणत भएको थियो । कार्यक्रममा गाउँपालिकालाई बालविवाह मुक्त गराउने अभियानमा सहयोग तथा समन्वय गर्ने दर्जनौं व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्याक नेपाल र त्रिवेणी विकास समाज बाँकेले बालविवाह रोकथाम परियोजना मार्फत साझेदारी गर्दै आएका छन् ।

गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठन सम्बन्धि कार्यविधि, बालविवाह अन्त्य सम्बन्धि रणनीति, बालसंरक्षण नीति र गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशिल रहेको सरोकारवालाले जनाएका छन् ।

आगामी फागुनसम्ममा बाँके जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी छ ।