दैलेख। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहयोग पुर्याउने सात संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। मन्त्रालयले मानव बेचबिखनविरुद्धको १५औँ राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सो कार्यका लागि विभिन्न क्षेत्रबाट योगदान गर्नेलाई पुरस्कृत तथा सम्मानित गरेको हो।
कान्तिपुर दैनिकमा विगत लामो समय देखि सुर्खेत र दैलेखलाई आधार क्षेत्र बनाएर काम गर्दै आएकी ज्योति कटुवाल पुरस्कृत भएकी छिन् ।आइतबार आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा पुरस्कृत तथा सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गरिएकोमा छापा पत्रिकामार्फत देशमै एक मात्र पुरस्कृत हुनेमा ज्योति परेकी हुन ।
यस्तै यस वर्ष पुरस्कार प्राप्त गर्नेमा श्रीराम थापा प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँ, कुमार यात्रु, इन्डिजिनियस टेलिभिजन काठमाडौँ, माया तामाङ र शक्ति समूह काठमाडौँ रहेका छन्। पुरस्कारको राशि जनही रु २० हजार रहेको छ।
त्यसै गरी सन्दीप पौडेल उपसम्पादक हिमालय टाइम्स दैनिक, अजयबाबु शिवाकोटी हाम्राकुरा डटकम र पौरखी नेपालबाट मञ्जु गुरुङलाई सम्मानित गरिएको हो। कोरोना महामारीका कारण गत आर्थिक वर्षमा पुरस्कार वितरण गर्न नपाएको मन्त्रालयले गत वर्ष पुरस्कारका लागि छनोट भएकालाई पनि वितरण गरेको हो।
गत आवमा सोही कार्यमा सहयोग गरी पुरस्कार पाउने व्यक्ति वा संस्थामा शोभा पाण्डे प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँ, धनकुटाको पत्रकार स्मिता निरौला, निर्मला पौडेल शक्ति समूह बाँके, पवित्रा ढकाल शाखा अधिकृत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन्। दुर्गा सिंह प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँ, सञ्जु पौडेल पाण्डे रुपन्देही र तारा भण्डारी विश्वास नेपाल काठमाडौँलाई सम्मानित गरिएको हो।
मन्त्रालयका सचिव यमकुमारी खतिवडाले मानव बेचबिखन नियन्त्रणका लागि केन्द्र सरकार मात्रै नभई स्थानीय सरकार थप जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले मानव बेचबिखनरहित देश घोषणा गर्न सम्बन्ध भएका सबै निकाय प्रतिबद्ध भएर न्यूनीकरणका लागि सक्रिय हुनुपर्ने बताए।पुरस्कृत पत्रकार अजयबाबु शिवाकोटीले वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखन बढिरहेकाले अब सञ्चार जगत्को ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।कार्यक्रममा सहभागीले मनोरञ्जको क्षेत्रमा लागेका युवायुवती बेचबिखनको बढी जोखिममा रहेकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताएका थिए।