☰ open Loading... 4 December 2024|  

देउवा-ओलीबीच मिल्यो बोलीः अर्ली इलेक्शन
  | १३ आश्विन २०७८, बुधबार १८:२७

 

काठमाडौं,। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दलका नेता छन् । विगतमा ओली प्रधानमन्त्री हुँदा देउवा प्रमुख प्रतिपक्षी दलका नेता थिए । यी दुई नेताबीच कमै मात्र टकराव देखिन्छ ।

ओली प्रधानमन्त्री हुँदा देउवाको राम्रै साथ पाएका थिए । कतिपय नियुक्तिहरुमा देउवानिकटहरुले ठाउँ पाए । संवैधानिक परिषदबाट भएका संवैधानिक निकायमा नियुक्ति सिफारिश ओलीको पालामा भएको थियो । जहाँ देउवानिकटस्थले उल्लेख्य स्थान पाएका थिए ।

ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवाले चुनावको रटान लगाएका थिए । उनी प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहँदा भित्र भित्र चुनाव होस् भन्नेमा देखिन्थे । उनले सार्वजनिक रुपमा पनि चुनावका लागि तयार हुन भनिरहेका थिए ।

घटनाक्रमले देउवालाई प्रधानमन्त्रीको कुर्सीमा चढायो जसमा उनी बढ्न आनाकानी गरिरहेका थिए । बरु चुनाव होस् भन्नेमा थिए । परिस्थिति बदलियो । विघटनमा परेको प्रतिनिधि सभा पुनःस्थापना भयो । देउवा प्रधानमन्त्री भए ।

देउवा ज जस्को साथ पाएर प्रधानमन्त्री भए उनीहरुसँग मुद्दा र विचारका दृष्टिले निकै फरक छन् । त्यसैले मन्त्रिपरिषद विस्तारमा साँढे दुई महिना लागिसकेको छ । एमसीसीलगायतका विषयहरु पनि मतभेदको विषय बन्न थालेका छन् ।

देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, प्रचण्ड र माधव नेपाल विपक्षमा देखिएका छन् । यसले टकराव बढाउने सम्भावना बढेको छ ।

प्रचण्ड र माधव नेपालसँग मिलेर सरकार चलाउन सजिलो नहुने बुझाई देउवामा देखिन्छ । यसकारण पनि उनले ओलीसँग हात बढाइरहेका छन् । विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पटक पटक पठाएका छन् । उनले राजनीतिक सन्देशसहित कार्कीलाई पठाउने गरेका छन् । यसभित्र अर्ली इलेक्शनको उद्देश्य समेत लुकेको बुझ्न थालिएको छ ।

कार्कीलाई १२ असोजमा विहान भेटेका ओलीले दिउँसो ताजा जनादेशमा जोड दिइरहे । उनले अर्ली इलेक्शन देउवा सरकारले गर्दा पनि मान्य हुने स्पष्ट पारे । यसले राजनीतिकवृत्तमा तरंग आएको छ ।

देउवा र ओलीको चुनावबारे बोली मिल्दै आएको छ । देउवाले गत वर्ष नै चुनाव चुनाव भनेका थिए । उनले नुवाकोट, हेटौंडालगायतका स्थानमा पार्टी कार्यक्रममा चुनावको रटान लगाएका थिए । अहिले ओली त्यस्तै गर्न थालेका छन् । दुवैको अर्ली इलेक्शनमा बोली मिलेकाले देश त्यही दिशातर्फ बढेको संकेतहरु मिल्न थालेको छ।-