काठमाडौं । गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारण पूर्णता नपाएको मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने भएको छ ।
२५ सदस्य हुने मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात सदस्य मात्र छन् । गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो ।
तर, यही समयमा माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको मन्त्रिपरिषदलाई पूर्णता दिने काममा रोकिएको हो । नेपाल अस्वस्थ हुँदा सत्ता गठबन्धनको बैठक बस्न नसकेकाले मन्त्रीपरिषद बिस्तार हुन नसकेको नेताहरू बताउँछन् ।
माधव नेपालको स्वास्थ्यबाहेक सरकार विस्तारका लागि कुनै पनि कुरा बाधक नभएको गठबन्धन दलका नेताहरूको दाबी छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल मंगलबारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।