☰ open Loading... 26 November 2024|  

सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल
  | ८ कार्तिक २०७८, सोमबार ०५:१०

जुम्ला । जुम्लाको हवाई सेवा सुधारका लागि पटक पटक छलफल बहस र निर्णय भएपनि अझै सुधार हुन सकेको छैन । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै भरमा टिकट बुकिङ हुने हप्ता दिन देखि धाइरहेका सर्वसाधारणले टिकट नपाउने समस्या अझै विद्यमान छ ।

मनपरी भाडा लिने, आफ्नो चिनेका मात्र टिकट दिने तर अघिल्लो पर्खेका गाउँका नागरिकलाई विभिन्न बहानामा घर फर्काउने, सेडुल अनुसार उडान नभर्ने, सम्झौता अनुसार नियमित उडान नगर्ने जस्ता थुप्रै बेथिति जुम्ला विमानस्थलमा छन् ।

नेता प्रहरी प्रशासनलाई भनेकै बेला टिकट पाइने भएकोले आम नागरिकले हवाई सेवामा भोगिरहेको समस्या प्रति सरोकारवाला गैरजिम्मेवार देखिएका छन् । गएको भदौ १३ गते बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शिता रोक्न चार वटा निर्णय गरेको थियो ।

टिकट वितरण प्रणालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटको लागि पहल गर्ने, तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय खोलेर टिकट वितरण सहज गर्ने निर्णय भएका थिए ।

तर निर्णय भएको करिब दुई महिना पुग्न लाग्दा समेत निर्णयको कार्यान्वयन हुन सकेको छैनन् । विमानस्थल बाहिर खोलिएका कार्यालयमा ताला लागेको हुन्छ । नागरिक अगुवा राज बहादुर महत भन्छन्,“फोनका भरमा टिकट वितरण हुन्छ । एजेन्टहरूले आफ्ना चिनेका मान्छे आएपछि अघिल्लो सदन आएकालाई पनि टिकट छैन भनेर फिर्ता गरेका धेरै उदाहरण छन् ।
दशै तिहारमा आउजाउ गर्ने यात्रुले हवाई सेवामा सास्ती पाएपछि हवाई समस्या समाधान गर्न जुम्ला विमानस्थलमा दुई दिन बैठक बसेको छ । जिल्ला स्तरीय सर्वदलीय र सर्वपक्षीय बैठकले हवाई समस्या समाधान गर्न केन्द्रीय स्तरमा पहल गर्ने सहित अघिल्ला निर्णयलाई कार्यान्वयन गर्ने  निष्कर्ष निकालेको छ ।

अध्यक्षतामा बसेको बैठकले सेडुअल फ्लाइट र सम्झौता अनुसार जहाज नियमितता गर्ने र स्थानीय स्तरमा कार्यालय खोलेर अनिवार्य टिकट व्यवस्थापन गर्ने लगायतका विषयमा निर्णय भएको नागरिक उड्डयन प्राधिकरणको जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले बताउनुभयो ।

कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थलको स्तरबृद्धि सँगै हवाई सेवा सुधारका विषयमा सरोकारवालाले देखाएको चासो दिएका छन् । प्रमुख शर्माले भन्नुभयो,“टिकट वितरणमा अनियमितता हुनु हुदैन् जो पहिला आयो उसैले पहिले सेवा पाउनु पर्छ । भने ज्येष्ठ नागरिक,बिरामी, पर्यटकहरूलाई विशेष प्राथमिकता हुनुपर्छ । केन्द्र स्तरबाटै पहल गरेर हवाई सेवा सुधारमा जोड दिन आवश्यक छ ।”

दशै तिहारको समयमा जुम्ला सिंजा हुँदै रारा जाने पर्यटकको घुइँचो हुन्छ । तर भनेकै बेला टिकट नपाउँदा पर्यटक अलपत्र पर्ने अवस्था छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भन्नुभयो,“फोनका भरमा आफन्तलाई टिकट दिने एजेण्डहरुको मनपरी रोकिनुपर्छ । पहिलो आउनेले अघि सेवा पाउनु पर्छ ।

जुम्लाको हवाई सेवा सुधारका लागि सञ्चार जगतले नियमित ध्यानाकर्षण गराएको भन्दै अध्यक्ष शाहीले हवाई सेवामा पहुँचवालाको हालीमुहाली अन्य गर्न, सर्वसाधारणमुखी हवाई सेवा बनाउन नियमित खबरदारी गर्ने उहाँको भनाई छ ।