☰ open Loading... 1 May 2024|  

इन्जिनियरहरू आन्दोलित
  | ८ कार्तिक २०७८, सोमबार ०५:२९

सुर्खेत- कर्णाली प्रदेशभर कार्यरत इन्जिनियरहरू आन्दोलित भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुखलाई अमानवीय दुर्व्यवहार भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् । यहीँ कार्तिक ४ गते आयोजना प्रमुख राजेश कुशवालाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए । सोही घटनाको छानबिन गरी पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै आफूहरू आन्दोलनमा उत्रिएको इन्जिनियरहरूले बताएका छन् ।

घटनाको विरोधमा दोषिमाथि उचित कानुनी कारबाही नभएसम्म नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेश कार्यकारिणी समितिले आन्दोलन नरोकिने जनाएको छ । इन्जिनियर्स एसोसिएसनका प्रदेश सभापति सोनालाल यादवकाअनुसार आइतवार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यमार्फत प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीलाई ज्ञापन–पत्र बुझाइएको समेत बताए । यादवका अनुसार आज इन्जिनियरहरूले अत्यावश्यक सेवाबाहेक कार्यस्थलमा पेन डाउन गरेर विरोध जनाउने भएका छन् ।