☰ open Loading... 1 May 2024|  

अज्ञात समूहले तरकारी व्यापारीबाट ३ लाख लुट्यो
  | ९ कार्तिक २०७८, मंगलवार ०५:२४

सल्यान -सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन्।कपुरकोट गाउँपालिका१ को कालापात्लाको जंगलमा ४र५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन्। रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई आएका थिए।

लुटेराहरूको समूहले सोमबार बिहान करिब साढे ११ बजे गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउँदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए।

उनका अनुसार मिनी ट्रकमा व्यापारी र चालक तथा मजदुरसहित ४ जना थिए।मुख छोपेर आएका लुटेराहरूले गाडीको साँचोसमेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन्।

रकम लुटेर उनीहरू रोल्पातिर भागेको हलुवाईले बताए।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।