☰ open Loading... 26 December 2024|  

हुम्लाको नाम्खाका लागि ढुवानी भएको चामल सदरमुकाममै रोकियो, हेलिकप्टरको टुङ्गो लागेन
  | १२ मंसिर २०७८, आईतवार ०५:३८

 

हुम्ला- खाद्यान्नको सङ्कट भएको हुम्लाको नाम्खाका लागि सरकारले खाद्यान्न ढुवानी सुरु गरे पनि सम्बन्धित ठाउँमा पुग्न भने अझै समस्या भएको छ । सुर्खेत र कैलालीबाट ९० क्विन्टलभन्दा धेरै चामल पठाएको भए पनि हुम्लाको सदरमुकाममा रहेको श्रीनगर डिपोमै थन्किएको छ।

सदरमुकामसम्म स्थलमार्ग हुँदै लगिए पनि त्यहाँबाट सम्बन्धित ठाउँमा लैजानका लागि बाटो बिग्रिएकाले समस्या भएको हो । नाम्खामा खाद्यान्न लैजानका लागि हेलिकप्टरबाहेक विकल्प नभए पनि हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा लैजाने बारे भने सरकार अझै अलमल नै छ ।

हिजोदेखि नै खाद्यान्न पठाउन हेलिकप्टरको व्यवस्था गर्ने भने पनि सेनाको हेलिकप्टर बिग्रिएकाले पठाउन नसकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले बताउनुभयो । उहाँले भोलिसम्ममा जसरी भए पनि हेलिकप्टरको व्यवस्था गरेर सम्बन्धित ठाउँमा खाद्यान्न पुर्याउने बताए।

गृह मन्त्रालयले हिजोदेखि नै हिल्साबाट लिमीमा खाद्यान्न ढुवानी गर्ने भनेको थियो । त्यही भएर हेलिकप्टरमा खाद्यान्न लोड गर्न लिमीबाट १२ जना स्थानीय हिल्सा पुगेर बसिरहेका छन् । हिमपातका कारण हिल्सामा बस्न सजिलो छैन, तर सरकारले ढिलाइ गर्दा कहिलेसम्म बस्ने भन्ने अझै टुङ्गो नभएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए ।

नाम्खामा खाद्य सङ्कट अझै चुलिँदै गएको छ । हुम्लामा महिनामा १२ देखि १५ सय क्विन्टल चामल चाहिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। तर कात्तिकदेखि नाम्खामा खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको सङ्कट बढ्दै गएको हो ।