आजकल सुर्खेत जिल्लाको उपत्यका वरिपरीका पहाडहरुमा विश्वमै दुर्लभ मानिएको चरा कांडे भ्याकुरका वथान अत्यधिक मात्रामा देखिएका छन् । विशेष गरेर ईत्राम, चनौटे, निमारे, जर्वुटा, साटाखानी, झुप्रा खोलाका जंगलमा धेरै नै पाईएको छ । यो चराको बारेमा सम्बन्धित निकायले स्थानियलाई जानकारी गराउनु अत्यन्त आवश्यक रहेको छ किनकी अज्ञानतावश यसलाई शिकार हुनबाट बचाउनु निकै जरुरी देखिन्छ । काडे भ्याकुर लाई अङ्ग्रेजीमा Spiny Babler भनिन्छ । यसको वैज्ञानिक नाम Turdoides nipalensis हो ।यो नेपालमा मात्र पाइने पंक्षी हो । विश्वमा अन्त कतै नपाइने काडे भ्याकुर नेपालमा मात्र पाइने दुर्लभ चरा हो । काडे भ्याकुर विशेष गरी काठमाडौँ उपत्यका वरीपरी गोदावरी फुलचोकी र धादिङको उत्तरी भेगमा पाइने गर्दछ चितवनमा पनि पाईएको छ । काँडे भ्याकुर समुद्र सतहबाट १२ सय मिटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्युन संख्यामा पाइने गरेको छ । यसले एक पटकमा २ वटा मात्र अण्डा कोरल्छ र यो समुहमा बस्न रुचाउंछ ।
यो ढुकुर भन्दा केही सानो र खरानी रङको हुन्छ । यसको शरिरमा कांडा जस्तो धर्का रहेको हुन्छ । यो करिव २६ सेन्टिमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आफ्नो आहारा खोज्दछ । लजालु स्वाभावको यो चरालाई सजिलै फेला पार्न सकिदैन । सन २००२ मा अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ IUCN ले अति लोप उन्मुख पंक्षिका रुपमा कांडेभ्याकुरलाई सुचिकृत गरेको छ । करिव १ सताव्दि सम्म यसलाई लोप भएको मानिएको थियो । स्थानीय भाषामा काँडे भ्याकुरको शाब्दिक अर्थ “काँडादार चरा” भनेर भन्न खोजिएको हो । यसलाई सर्वप्रथम १९ औं शताब्दीको मध्यतिर ब्रायन हाउटन होड्सनले वैज्ञानिक रूपमा वर्णन गरेका थिए। यो मुख्यतया लजालु चरा हो । यो घना झाडीमा बस्छ र झाडीका हाँगाहरू र स-साना रूखहरुमा पाउन सकिन्छ।कृषि र शहरी क्षेत्रहरूको विस्तारका कारण यसलाई खतरामा पारेको छ। काँडे भ्याकुर जस्ता थुप्रै लोपोन्मुख, दुर्लभ पक्षी संरक्षणमा ध्यान दिने हो भने पनि नेपाल पक्षी पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ। बिगतमा यस चरालाई हेर्नको लागि मात्र पनि विदेशी चराप्रेमीहरु नेपाल आएको रेकर्ड रहेको छ ।
संसारभरका चराप्रेमीलाई काँडे भ्याकुर हेर्न नेपाल नै आउनुपर्ने बाध्यता छ । किनभने, यो पक्षी अहिलेसम्म नेपालबाहेक अन्य देशमा पाइएकै छैन । काँडे भ्याकुर विश्वकै निम्ति नयाँ पक्षी भएको पत्ता लगाउने श्रेय ब्रायन हड्सनलाई जान्छ । हड्सनले सन् १८३० मा यो पक्षी काठमाडौं उपत्यकामा फेला पारेका थिए । हड्सनले १८३६ मा प्रकाशित आफ्नो लेखमा यो पक्षीको नाम टिमालिया निपालेन्सिस् राखे । उनी त्यतिवेला कलकत्तास्थित जन्तु संग्रहालयमा क्युरेटर थिए । लोपोन्मुख काँडे भ्याकुर बर्खामा १५००–२१३५ मिटर र हिउँदमा ५००–१८३० मिटर उँचाइसम्म पाइन्छ । र, सामान्यतः बाक्लो झाडी तर खेतीपाती लगाइएको ठाउँभन्दा अलि टाढै बस्न रुचाउँछ । काँडे भ्याकुर पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडीसम्म पाइएको छ । तर, नेपालभरि यो पक्षी कति पाइन्छ भन्ने विस्तृत अध्ययन भने गरिएको छैन । धेरै पहिला काठमाण्डौं उपत्यकामा यो चरा प्रसस्त पाईन्थ्यो तर, बढ्दो शहरीकरणले यो पन्छी देख्नै हम्मेहम्मे पर्न थालेको छ । नेपालमा मात्र पाइने काँडे भ्याकुरलाई जोगाउन सरकारले वेलैमा दीर्घकालीन अवधारणा लागू गर्नु पर्दछ ।