☰ open Loading... 3 May 2024|  

कर्णालीमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता
  | २० पुष २०७८, मंगलवार १७:३४

सुर्खेत-  राष्ट्रियसभामा रिक्त हुन लागेका तीन सदस्यका लागि कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक जना उम्मेदवार भागबण्डा गरेर उममेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ।

निर्वाचन समितिका अनुसार सत्ता गठबन्धन दल नेपाली कांग्रेसले महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्रले अपाङ्गतातपर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुल्लाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान)लाई उम्मेदवार बनाएको छ।

यस्तै नेकपा एमालेले महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्गता÷अल्पसंख्यकतफ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा (सुर्खेत) लाई उम्मेदवार बनाएको छ। महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ। दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित कलस्टरबाटै दिनुपर्नेछ।

कर्णालीमा स्थानीय तहका प्रमुख/उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन्। प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख÷उपप्रमुख र प्रदेशसभाका सदस्यहरुलाई मात्र छ।

स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ। राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत माओवादीसँग छ।