☰ open Loading... 25 June 2022|   शनिबार, असार ११, २०७९

१० हजारबाट उद्योगी बनेकी वसन्ती
  |

कालिकोटबाट रित्तो हात बाँकेस्थित कोहलपुर–१ कौशिलानगरमा आएकी ३० वर्षीया वसन्ती तिरुवासँग अहिले, ‘एउटा पक्की घर छ। एक गार्मेन्ट उद्योग पनि। उद्योगमा करिब पाँच लाखभन्दा बढी लगानी छ। त्यही उद्योगमा उनी आफूमात्रै होइन्, अन्य तीनजनालाई पनि रोजगारी दिएकी छिन्।’

यो सफलता उनले कडा मिहेनत र लगनशीलतापछि मात्र प्राप्त गरिन्। भनिन्छ, ‘पैसा कमाउन विदेशै जानु पर्दैन। इमान्दारीताका साथ मिहेनत गरे स्वदेशमा सुन फलाउन सकिन्छ।’ जुन कुरा, वसन्तीजस्ता संघर्षशील महिलाले उदाहरण पेश गरेका छन्। वसन्तीका मनमा पनि अनेकन कुरा नखेलेका होइनन्। जीवनलाई संघर्षशील बनाउन उनले दुःख पनि सामान्य झेलेकी छैनन्। जुन, संघर्षले उनलाई अहिले उद्योगीको ट्याग लगाइदिएको छ।

सामान्य परिवारकी उनलाई खान लगाउनै मुस्किल थियो। परिवारका अन्य सदस्य पनि बेरोजगार हुँदा उनलाई घर धान्न धम्मेधम्मे थियो। जीविकापार्जनका लागि कुनैबेला २६ सय रुपैयाँले महिनाभरि काम गरेको अनुभव छ उनीसग। उक्त जागिरले घरधन्दा चलाउन कठिन भएपछि व्यापार सञ्चालन गर्ने सोच बुनिन्। त्यसपछि उनले १० हजार रुपैयाँ लगानीमा सिलाइकटाइ पसल सञ्चालन गरिन्। जुन उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। अहिले वसन्तीको जीवनमा वसन्तमय छाएको छ।

वसन्तीलाई अहिले न पैसाको अभाव छ, न त जागिरैकै आवश्यकता। कुनैबेला जागिरको लागि कालिकोटदेखि सुदूरपूर्वको सप्तरीसम्म धाएकी उनलाई संघर्षले मालिकको परिचय दिएको छ। उनी स्वयम् पनि अहिले आफ्नो जीवन वसन्तमय भएको बताउँछिन्। केही वर्ष पहिले एक कार्यक्रममा जाँदा वक्ताले बोलेको कुराले उनको जीवन परिवर्तन गराइदियो। ती वक्ताले भनेका थिए, ‘छोराको कमाइ डराइ डराइ, श्रीमान्को कमाइ कराइ कराइ, आफ्नो कमाइ रमाइ रमाइ।’

त्यो भनाइले उनलाई व्यवसायमा लागेर आफैँ कमाउन प्रेरणा मिल्यो। भन्छिन्, ‘त्यसपछि जागिर होइन व्यवसाय गर्नुपर्छ भन्ने प्रण गरेँ। जागिरको माया मारेँ। सीप सिक्न थालेँ।’ केही वर्ष पहिले उनले कालिकोटमा बालविकास केन्द्रमा पढाइन्, २६ सय मासिक तलब थियो। पछि स्वास्थ्यले साथ नदिएपछि तराई झरिन्, त्यहाँ फुर्सदको समयमा सिलाइकटाइ सिकेकी थिइन्। व्यवसाय गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपछि वसन्तीले सुरुमा सिलाइकटाइ तालिम लिइन्। ‘बुढाको जागिर थिएन। सबै बेरोजगार। तालिमका लागि ऋण निकाले,’ उनले भनिन्, ‘सियो र धागो किन्नेसमेत पैसा थिएन। माइतमा गएर सीप सिकेँ।’ उनले बर्दियाको ठाकुरद्वारा (माइती)  मा गएर दुई महिने सिलाइकटाइ तालिम लिएको बताइन्। फेरि शिक्षणकै लागि सप्तरी पुगिन्। त्यहाँ दिउँसो बोर्डिङमा पढाउँथिन्, बिहान–साँझ लुगा सिलाउँथिन्। त्यहाँ पनि सोचेजस्तो जीवन चलेन।

त्यसपश्चात् कोहलपुर फर्केर समूहमा ऋण निकालेर कपडा सिलाउने व्यवसाय सुरु गरेको उनको भनाइ छ। १० हजार लगानीबाट उनको व्यवसाय सुरु भयो। अहिले गार्मेन्ट उद्योग सञ्चालन गरिरहेकी छन्।

उनीहरुलाई मासिक १० हजार तलब दिन्छिन्। उद्योग फाइदामा रहेको बताउने वसन्ती मासिक लाखौँ कमाउँछिन्। उनी भन्छिन्, ‘आफ्नो उद्योग चलाइरहेकी छु। छोरोछोरीको पालनपोषण र पढाइ खर्च सबै आफै व्यहोर्छु। श्रीमान्को कमाइ माग्नुपरेको छैन।’ उसो त उनका श्रीमान् पनि यतिबेला सरकारी जागिरे भइसकेका छन्।

‘हिजो एक महिनामा २६ सय कमाइ हुन्थ्यो, अहिले एकदिनमै कमाउँछु’, जागिरभन्दा व्यवसायमा आनन्द भएको बताउँदै उनले व्यवसायमा आफू सन्तुष्ट रहेको बताइन्। उनी महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिन्छिन्। पहिला धेरै क्षेत्रमा अवसर नपाए पनि अहिले सबैले व्यवसायको विषयमा प्रशंसा गर्ने गरेको बताइन्। उनको व्यवसायको लागि स्थानीय सरकार, विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन्। अझै ठूलो भवन निर्माण गरेर धेरैलाई रोजगारी दिने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।

!-- .entry-content --> प्रकाशित मितिः बुधबार, पुस २८, २०७८     5:10:45 AM