दैलेख- दैलेख प्रहरीले मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई कारबाही गरेको छ । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र होटल ,पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई एक सय रुपैयाँका दरले कारबाही गरेको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दैलेखका बिभिन्न स्थानबाट मास्क नलगाउने ५१ जनालाई रु १०० का दरले जरिवाना गरेको दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले जानकारी दिए। मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको उनले बताए । प्रहरी प्रमुख साहका अनुसार जरिवानाबाट बुधबार पाँच हजार एक सय रुपैयाँ राजस्व संकलन भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा दैलेख सदरमुकाम पुरानो बजार,देवकोटा चोक हुदै काडाँचौर बसपार्कको मुख्य बजार क्षेत्रमा ३ हजार मास्क वितरण गरिएको छ।कोरोना संक्रमणको लहर फेरी बढेपछि मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलखका अध्यक्ष यज्ञराज थापा लगायत जिल्ला स्थीत क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।