यामराज बिष्ट
दैलेख- कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार प्रशासनमा कार्यरत अन्य कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवा ग्राहीहरुको स्वास्थ्य सुरक्षा र संवेदनशीलतालाई मध्यजनर गर्दै भोली माघ १७ गते सोमवारदेखि माघ २१ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि माघ १४ गते शुक्रबारबाट नै एक हप्ताका लागी सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत अधिकाँश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । लामो समय कोरोना संक्रमितको संख्या शुन्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ ।जिल्लामा पछिल्लो समयमा ९० जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले बताए ।उनका अनुसार सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन ।