☰ open Loading... 27 April 2024|  

दैलेखमा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
  | १९ माघ २०७८, बुधबार ११:१२

दैलेख- दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।आठबिस नगरपालिका–८ की २४ वर्षीया हीरा बडुवाललाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।

मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको स्थानिय स्वास्थ्य चौकीमा बच्चा जन्मे पनि अत्यधिक रक्तस्राव भएपछि भनेजस्तो उपचार हुन नसकेपछि बुधबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल पश्चिम नेपाललाई जानकारी दिए।

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।’ हालसम्म दैलेखबाट मात्रै साउन देखि यता सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १० जनाको उद्धार भइसकेको छ।