☰ open Loading... 18 May 2024|  

बसपार्कको निर्माण तीव्रगतिमा
  | २४ माघ २०७८, सोमबार २०:१३

गणेश रावत, कोहलपुर-कोहलपुरमा नमुना बसपार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार कोहलपुरमा नमुना वर्ष पार्क निर्माण सुरु भएको हो । हालको बसपार्क साँघुरो हुँदै गएपछि ठूलो नमुना बसपार्क निर्माण गर्न थालिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए । कूल बजेटको ६० प्रतिशत नगर विकास कोष र ४० प्रतिशत कोहलपुर नगरपालिकाको लगानीमा उक्त बसपार्क निर्माण हुन लागेको हो ।

कूल २७ करोड ८४ लाखमा बासपार्क निर्माण गर्न लागिएको नगर विकास कोषले जनाएको छ । कोषका अनुसार अहिले बासपार्कको ४५ प्रतिशत काम सम्पन्न भएको छ । बसपार्क निर्माण कार्य २०७७ फागुन २४ गतेदेखि थालनी गरिएको थियो । पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्क दुई वर्षमा निर्माण कार्य सकिँदैछ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बससमेत सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने उनको भनाइ छ ।

बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने ढकालले बताए । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमुना बसपार्क हुने कोहलपुर नगरपालिकाले जनाएको छ । यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ ।