☰ open Loading... 19 May 2024|  

मुगुका सांसद बानियाँविरुद्ध शिक्षिका बलात्कारको जाहेरी
  | २५ माघ २०७८, मंगलवार १५:४४

बाँके, २५ माघ ।प्रतिनिधी सभा सदस्य सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ ।

शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जाहेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो–‘सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ ।’ सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ ।

बानियाँले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको उनले बताएकी छन् । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरेको उनको दावी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे छ । ‘दुई पटक बलात्कार, त्यो पनि कण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।

महिलाले बताए अनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो । सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन । प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ । –नेपाल समाचारपत्र दैनिकबाट साभार