विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानहरुको आर्थिक स्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिएको छ। जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र सल्यानका ८ पालिकामा १ सय ६३ कृषि समूह तथा सहकारी बनाएर कार्यक्रम गरिएको हो।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय मार्फत कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटले सुर्खेत, सल्यान र पश्चिम रुकुमका पालिका स्तरमा कार्यक्रम गरिरहेको छ। कृषि क्षेत्र विकास कार्यक्रम मार्फत बिउँ आलु उत्पादन, बेमौसमी तरकारी उत्पादन, दूध उत्पादन र बाख्रा खसी बोका पालनमा छनौट भएका समूह/सहकारीलाई खर्च गरेको हो। विपन्न, महिला तथा जनजातीहरु मुख्यत समेटेर कार्यक्रम गर्ने लक्ष्य रहेको छ।
कृषि क्षेत्र विकास कार्यक्रम लागु भएका पालिकाहरुमा जाजरकोटका भेरी नगरपालिका, छेडागाढ नगरपालिका, नलगाढ नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका, सुर्खेतको सिम्ता गाउँपालिका र रुकुमपश्चिमको आठविसकोट नगरपालिका रहेका छन्।
कार्यक्रमले सुरुमा कृषि विकास समिति गठन गरेर अभिमुखिकरणसहित कलष्टर (प्याकेट) छनौट भएपछि समूह तथा सहकारीबाट किसानहरुले के गर्ने त्यसको प्रस्तावना आह्वान गरेपछि मात्र कार्यक्रम हुने गरेको छ। कार्यक्रमले स्थलगत प्रमाणीकरण गर्ने, मूल्याकंन गरी ब्यवसायिक योजना निर्माण गरेर मात्र सम्झौता गरी कार्यक्रम अघि बढाईएको हो। किसानले के गर्न चाहन्छन् त्यसको अध्यायन गरेर पालिका स्तरबाट बनाएको कृषि विकास समितिले सिफारिस गरेपछि मात्र प्रत्येक समूहलाई १० लाख रुपैयाँ उनीहरुको खातामा हालिने कार्यक्रमका प्रमुख सुरेश थापाले बताए।
‘समूह/सहकारीसंग सम्झौतापछि सिधै उनीहरुको खातामा कार्यक्रम गर्न रकम जम्मा हुने गर्दछ।’ कार्यक्रम प्रमुख थापाले भने, ‘किसानहरुले पनि कार्यक्रमका लागि म्याचिङ फन्टमा पैसा जम्मा गर्छन्।’ कार्यक्रमबाट प्राविधिक सहयोगदेखि प्रत्यक्ष रेखदेख गर्ने गरेको छ। जनप्रतिनिधिहरुले प्रत्यक्ष कार्यक्रमका बारेमा जानकारी राख्ने र प्रगति सिफारिस गर्ने गरेको छन्। यो वर्ष थप नयाँ १ सय ३० समूहमा बनाएर काम गर्ने लक्ष्य रहेको जनाईएको छ।