☰ open Loading... 5 February 2025|  

जुम्लाका ६९ हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप
  | २ फाल्गुन २०७८, सोमबार ०५:२०

जुम्लाका ६९ हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप

 

 

 

जुम्ला : जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए ।

 

कूल जनसंख्याको ५६ प्रतिशत अर्थात् ४५ हजार ४८८ नागरिकले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुस्टर खोप दुई हजार ८८ जनाले मात्र लगाएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिका नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 

नगरभित्रका २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप एक हजार २२७ जनाले लगाएको चन्दननाथ नगरपालिका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।

 

पातारासी गाउँपालिकामा पहिलो खोप नौ हजार ४६६, पूर्ण खोप सात हजार ३१५ र बुस्टर १७३ जनाले लगाएका छन् । त्यस्तै कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप चार हजार ४३६ जनाले लगाएका छन् । सिञ्जामा पहिलो खोप पाँच हजार ३५४ र पूर्ण खोप चार हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । गुठीचौर गाउँपालिकामा पहिलो खोप सात हजार ५२६, पूर्ण खोप चार हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

तातोपानी गाउँपालिकामा पहिलो खोप सात हजार ४४१ र पूर्ण खोप चार हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप पाँच हजार ९५४ र पूर्ण खोप तीन हजार ५९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप चार हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएको कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोपकार्ड लागू गरेपछि कोभिडविरुद्धको खोप लगाउनेको संख्या बढेको कार्यालय प्रमुख सापकोटाले बताए।