☰ open Loading... 5 February 2025|  

माछा पालनबाट आत्मनिर्भर बन्दै
  | ६ फाल्गुन २०७८, शुक्रबार ०५:१५

सल्यान । व्यावसायिक माछा पालनबाट सल्यानका युवा आत्मनिर्भर बन्दै जान थालेका छन् । छोटो समय र थोरै लगानीबाट मनग्य आम्दानी हुन थालेपछि युवाहरू माछा पालनबाट आत्मनिर्भर हुन थालेका हुन ।

पछिल्लो समय यस क्षेत्रमा माछा पालन व्यवसायले फड्को मार्दै गएको छ । परम्परागत कृषि भन्दा व्यावसायिक माछा पालनबाट राम्रो आम्दानी गर्न सकिने छत्रेश्वरी गाउँपालिका–६ का किसान लोकराज भण्डारीले बताए ।

माछा पालनबाट वार्षिक सबै खर्च कटाएर ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ । उहाँले भन्नु भयो ‘मैले झन्डै एक दशकदेखि व्यावसायिक माछा पालन गर्दै आइरहेको छु । यस वर्ष वर्षातले झन्डै छ लाख भुरा बगायो तर पनि झन्डै २ लाखको माछा बिक्री भयो होला ।’

कृषि क्षेत्रको बेलियो सम्भावना बोकेको यो क्षेत्र सरकारको नीति तथा कार्यक्रम फितलो भएका कारण सोचे जति अझै अघि बढ्न नसकेको उनले बताए ।
९ वर्ष अघिसम्म परम्परागत खेती गर्दै आउनु भएका कालीमाटी गाउँपालिका–३ ढोरेनीका केशरसिंह बुढाथोकीले पनि माछा पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । १ बिघामा माछा पालन गर्नु भएका बुढाथोकीले वार्षिक ४ देखि ७ लाखसम्म आम्दानी हुँदै आइरहेको बताए । ७ वटा पोखरीमा रहु, नैनी लगायतका माछा रहेका छन् ।

उत्पादन गरेको माछा स्थानीय बजार आसपासमै बिक्री हुने उहाँले बजारको कुनै समस्या नभएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘बाहिरका व्यापारीहरू गाडी लिएर पोखरीमै आउँछन् । बजारको मागलाई पुर्‍याउन सकिएको छैन ।’ स्थानीय बजारमा प्रतिकिलो ४ सय देखि ५ सय रुपैयाँसम्म माछा बिक्री हुँदै आइरहेको छ ।

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय सल्यानमा व्यावसायिक माछा पालन गर्ने किसानहरूको सङ्ख्या बढी रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । यो वर्ष मात्र १० लाख माथिको लगानीमा १५ नयाँ फार्म दर्ता भएको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

जिल्लाभर १ सय रोपनी भन्दा बढीमा माछा पालन भइरहेको उहाँको भनाई छ । जिल्लामा ५० बढी युवाले व्यावसायिक माछा पालन गरी वार्षिक झन्डै १२ मेट्रिक टन माछा उत्पादन हुँदै आइरहेको उनको भनाई छ ।