☰ open Loading... 5 February 2025|  

छोरी बलात्कार गर्नेलाई ४३ वर्ष कैद
  | १० फाल्गुन २०७८, मंगलवार ०६:०५

दैलेख जिल्ला अदालतले १४ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३९ वर्षीय बाबुलाई ४३ वर्ष कैद र एक लाख रुपैंयाँ क्षतिपूर्ति सजायको फैसला सुनाएको छ। दैलेख सदरमुकाम नजिकैको एक गाउँकी १४ वर्षकी छोरीलाई बलात्कार कसुरमा जिल्ला अदालतले उक्त फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट छोरीलाई हाडनाता करणी कसूरमा २५ वर्ष र बलात्कार कसूरमा १८ वर्ष कैद तथा एक लाख रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाईएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिएका हुन्।

२०७७ मंसिर १९ गते १४ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालै घरबाटै पक्राउ गरेर अनुसन्धान गरेको थियो।

२०७७ मंसिर १९ गते नै दैलेख अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको जिल्ला सरकारी वकील कार्यालयले ०७७ पुस १६ गते दैलेख जिल्ला अदालतमा हाडनाता करणी सम्वन्धी अभियोग दर्ता गराएको थियो। अभियोग सम्वन्धमा पुस १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको थियो।

पीडितको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र प्रतिरक्षामा दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले बहस गरेका थिए। यो घटनाको अलवा दैलेखमा ५ वर्ष अघि पनि एउटा र यो वर्ष दुई वटा मुद्दा बाबुबाट छोरी बलात्कृत भएको घटना अदालतमा बिचराधीन छन्।

मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजाय समेत ४३ वर्ष कैद गरिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ।