जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् ।
सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ । मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’
उनले स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाको स्याउका बिरुवा गुणस्तरीय रहेको भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्याउने गरिएको छ ।
जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, ‘स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।’ रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए ।