बाँके : प्रहरीले नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–९ शान्तिपुरका २४ वर्षीय प्रविण विसी रहेकाे छ । उनलाई १५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
शंकास्पदरुपमा हिडिरहेका उनलाई चेकजाँच गर्दा ज्याकेटको खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको उक्त ब्राउनसुगर बरामद गरिएको डिएसपी न्यौपानेले बताए । उनलाई लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा एक वर्षदेखि लागूऔषध सेवन तथा कारोवारमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट नगद ३ हजार बरामद गरेको छ ।
पछिल्लो समय बाँकेमा लागूऔषध कारोवार बढ्दो रहेको आँकलन गरिएको छ । दिनहुँ जसो लागूऔषध कारोवारीहरु पक्राउ परेको घटनाले यहॉ लागूऔषधको कारोबार बढेको आँकलन गरिएको हो । नेपालगन्जको सीमावर्ति क्षेत्र रुपैडियाबाट नेपाल भारत आवत जावत गर्ने भएकोले लागूऔषध कारोवार बढ्दै गएको बताइएको छ । अहिले सीमावर्ति क्षेत्रमा कडाइका साथ चेकजाँच हुने गरेको डिएसपी न्यौपानेले बताए ।