दैलेख । जलाधार, उपजलाधार प्राथमिकीकरण एवम् व्यवस्थापन योजना निर्माण सम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति दैलेखको समन्वयमा भु -तथा जलाधारा व्यवस्थापन कार्यालय सुर्खेतको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । जलाधार तथा उपजलाधारा क्षेत्रका विषयमा तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि दैलेख जिल्लामा कार्यान्वयन गरिनुपर्ने आवश्यक योजनाका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।
कार्यक्रममा भु जलाधार कार्यालयका तर्फबाट कन्स्ल्टेन्ट टिमका निरज तिमिल्सेनाले दैलेख जिल्लामा अवस्थित जलाधार क्षेत्रको स्थिति विश्लेषणका सम्बन्धमा प्रकाश पारेका थिए । उनले पोखरी, ताल, खोला, खोल्सी, बाढी, पहिरोको स्थितिबारे जानकारी दिए । उनका अनुसार हरेक दृष्टिकोणले अन्य क्षेत्रभन्दा माथिल्लो र तल्लो लोहोरे जलाधार क्षेत्र जोखिममा रहेको छ । ‘अन्य जलाधार क्षेत्र पनि विभिन्न किसिमको जोखिममा रहेका छन् नै’, तिमिल्सेनाले भने, ‘विशेष गरी माथिल्लो लोहोरे र तल्लो लोहोरे जलाधार क्षेत्रमा बाढि, पहिरो, जनघनत्व, नदी धार परिवर्तन लगायतका विषयले अरुभन्दा बढी जोखिममा देखिन्छ ।’ कार्यक्रममा जलाधार तथा उप जलाधार व्यवस्थापनका विषयमा कन्स्ल्टेन्ट टिमका रविन बोगटीले जानकारी गराए । उनले जलाधार व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायको भुमिकाका बारेमा समेत जानकारी दिए । यस्तै, सो अन्तरक्रिया कार्यक्रममा कन्स्ल्टेन्ट भवानी प्रसाद खरेले दैलेख जिल्लास्थित जलाधार क्षेत्रको चित्रणका विषयमा प्रष्ट पारेका थिए ।
उनले जल निकासी वा उपजल निकासी प्रणालीको विभाजन, जलाधार क्षेत्रको भौगोलिक नियन्त्रण वा जन निकासी विशेषताहरु, भौगोलिक स्थान र पँहुच, प्रशासनिक एकाइहरु गाउँपालिका र नगरपालिकाका विषयमा जानकारी स्पष्ट पारे । साथै, कार्यक्रममा खानेपानी, सिचाई उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोकराज गौतमले विकास र वातावरणबीचको सन्तुलन कायम गरेर मात्रै योजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । उनले खानेपानीको मुहान स्रोत घट्नुको कारण जथाभावी सडक खन्नु भएको गौतमले बताए । गौतमले नदी नियन्त्रणका सम्बन्धमा जानकारी गराएका थिए । सो अन्तरक्रिया कार्यक्रममा विभिन्न विधागत रुपमा ग्रुप छलफल समेत गरिएको थियो ।
जसअन्तरगत वन तथा भु संरक्षण र पर्यटन, सडक पूर्वाधार र वस्ती विकास, सिचाई जलउपयोग र फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी ग्रुप छलफल गरिएको थियो । छलफलबाट जिल्लामा अवगत विद्यमान अवस्था, समस्या, चुनौती र यसका समाधानका विषयमा निष्कर्श निकालिएको थियो । कार्यक्रममा जिल्लास्थित प्रतिनिधी सभा सदस्य, जिसस प्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।