सल्यान — प्रहरीले एक थान भरुवा बन्दुकसहित सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका ३ झिम्पे मिलनचोक बस्ने मनिषकुमार पुन र लोकबहादुर पुनलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
मनिष र लोकबहादुरले मनिषको घरमा लुकाइछिपाइ राखेको एकनाले बन्दुक पडकिँदा लोकबहादुरको दाहिने हातमा चोट लागेको थियो । उनी घाइते भएको गोप्य सूचना पाएपछि त्यसैको आधारमा इलाका प्रहरी लुहामबाट खटिएको प्रहरी टोलीले छिमेकी भुपाल पुनको गहुँबारीबाट भरुवा बन्दुक फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार मनिषकुमार पुनलाई घरबाटै र घाइते भएका लोकबहादुर पुनलाई उपचार गराइरहेको स्थानबाट पक्राउ गरिएको हो ।
पोडेलका अनुसार पक्राउ परेका दुवैलाई अहिले इलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखिएको छ । दुवैलाई हातहतियार खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।