काठमाडौं । मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७-७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको विभागले जनाएको छ । गत आवमा इतिहासमै पहिलोपटक १ खर्बमाथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको विभागले जनाएको छ ।
आठ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर पुनः रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पु¥याएको हो ।
नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेललगायतको छ । आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ । यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो ।
यसैगरी, इन्डोनेसिया, मलेसियालगायत देशबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ । यी वस्तु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ । नेपाली व्यावसायीले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाएको छ । तर, यसमा भ्यालु एड भने हुने गरेको छ । निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ । निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ । यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ ।
यस्तै, कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ । यसैगरी, अलंैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामग्रीमा धेरैजसो धागोकै उत्पादन रहेका छन् ।
चालू आर्थिक वषको बितेका आठ महिना साउनदेखि फागुनमसान्तसम्ममा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।
विभागको तथ्यांकअनुसार ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बराबरको डिजेल, ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको एलपी ग्याँस र ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएको हो ।
यसैगरी, आयातको दोस्रो नम्बरमा सोयाबिन तेलको आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको तेलका लागि आवश्यक कच्चा पदार्थको आयात भएको हो । ३० अर्ब ९९ करोड बढीको पाम तेल, २८ अर्ब १७ करोड बढीको सुन, ३३ अर्ब ७६ करोड बढीको मोबाइल फोन आयात भएको छ ।
आयातको दोस्रो नम्बरमा रहेको सोयाबिन तेलको निर्यात पहिलो नम्बरमा रहेको छ । आठ महिनाको अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ६६ करोड १८ लाख रुपैयाँ बढीको सोयाबिन तेलको निर्यात गरेको छ ।
नेपालका तेल उद्योगीले विभिन्न देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थका आयात गरेर नेपालमा प्रशोधन गरी पुनः तेस्रो देशमा निर्यात गर्ने गरेका छन् ।
साढे ११ खर्बको व्यापार घाटा
भन्सार विभागका अनुसार निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको हो । चालू आवको बितेका आठ महिनामा साढे ११ खर्ब रुपैयाँ बढीको आयात हुँदा ३४ दशमलब ५० प्रतिशतले व्यापार घाटा बढेको छ ।
चालू आवको बितेका आठ महिनामा नेपालको ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।
यस्तैगरी, चालू आवको ८ महिनामै नेपालको वैदेशिक व्यापार ४२ दशमलब १३ प्रतिशतले बढेको छ । यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।राजधानि दैनिकबाट