☰ open Loading... 15 November 2024|  

सुर्खेत उद्योग वाणिज्य चुनावमा खड्का पक्ष विरुद्ध शेखर, एमाले र समाजवादीको गठबन्धन !
  | ९ चैत्र २०७८, बुधबार ०५:०५

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको आगामी चैत २६ गते तोकिएको निर्वाचनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्यानलको विपक्षमा कांग्रेस नेता शेखर कोइराला निकट व्यवसायी, नेकपा एमाले र समाजवादीका व्यवसायीहरूको गठबन्धन बन्ने सम्भावना देखिएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसको संस्थापन इतरको प्रजातान्त्रिक व्यवसायी समूह, नेकपा एकीकृत समाजवादीको नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ र नेकपा एमालेको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, निर्वाचनमा एक भएर निर्वाचनमा होमिने संकेत गरेका हुन् ।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, एमाले निकट व्यवसायी महासंघका डम्बरप्रसाद तिवारी र समाजवादी निकट संघका कृष्णप्रसाद सुवेदीद्वारा सामुहिकरुपमा हस्ताक्षरित विज्ञप्तिमा संघलाई सम्पूर्ण व्यापारी व्यवसायीहरूको साझा र छाता संस्था बनाउन र तोकिएको मितिमा निर्वाचन गर्न सामूहिक ऐक्यबद्धता जाहेर गरेका छन् ।

‘संघले पार्टीले आदेश दिए अवज्ञा गर्छौँ । व्यवसायीहरूले नै नेता र पार्टी पालेको हो । पार्टी र नेता रिसाउँदा पनि आफूहरूलाई कुनै फरक पर्दैन ।’ अध्यक्ष रावतले भने ।

संघको तोकिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने भन्दै निर्वाचन गर्नका लागि आवश्यक सम्पूर्ण डकुमेन्टहरू निर्वाचन समितिलाई बुझाइसकेको उनको भनाई थियो ।संघमा असन्तुष्ट पक्षहरूबाट लगाइएको ताला नखुल्दा पनि निर्वाचन नरोकिने अध्यक्ष रावतले प्रस्ट पारे। उनले आगामी चैत १० गतेसम्म संयुक्त व्यवसायी समूहका सबै उम्मेदवारहरूको नाम सार्वजनिक हुनेसमेत जानकारी दिए ।