☰ open Loading... 26 April 2024|  

वडाअध्यक्षको सिफारिसमा सिमसार क्षेत्रमा सडक
  | १० चैत्र २०७८, बिहीबार ०५:१८

वीरेन्द्रनगर नगरपालिका –१० का वडाअध्यक्ष रत्नबहादुर बुढाको सिफारिसमा भस्नावाध ईलाका, (सिमसार क्षेत्र) संरक्षित क्षेत्रमा सडक निर्माण गरिएको छ।

खानेपानीको मुहान संरक्षणका लागि संरक्षित सिमसार क्षेत्रको बीचभागबाट सडक खनिएपछि स्थानीयहरुले विरोध गरेका हुन्। सिमसार क्षेत्रमा सडक खनिएसंगै स्थानीयहरुले मुहान संरक्षण गर्नुपर्ने ठाउँमा वडा कार्यालय र वडाअध्यक्षले नै सडक खन्न नगरपालिकालाई सिफारिस गरेको भन्दै स्थानीयहरुले विरोध गरेको हुन्।

खानेपानीको मुहान र सिमसार क्षेत्रको संरक्षणका लागि वडाकै समन्वयमा यसअघि तारवार गरिएको छ। तर, वडा कार्यालयले त्यही तारवार बीचबाट सडक खनेपछि मुहान सुक्ने भन्दै स्थानीयले विरोध गरेका छन्। सिमसार अ‍ैलानी प्रतिजग्गाभित्र रहेको छ। जग्गा दलालीहरुलाई फाईदा पुग्ने गरी सिमसारबाटै सडक खनिएको भन्दै स्थानीय अगुवाहरुले विरोध गरेका हुन्।

वडा कार्यालयको सिफारिसमा सडक निर्माण गरिएपछि विरोध गर्न जम्मा भएका स्थानीयहरु।

सरकारी स्वमित्वमा पानी संरक्षणका लागि छुट्याइएको सिमसार क्षेत्रको बीचभागबाट वडा कार्यालयले सडक खन्न लगाएको स्थानीय खैरुन निशाले बताइन्। ‘जग्गा दलालको पछाडी लागेर वडाअध्यक्षकै संरक्षणमा सडक खन्न लगाएको हो।’ निशाले भनिन्, मुहान संरक्षण गर्ने ठाउँमा वडाबाट गैरजिम्मेवार काम भयो।’

सडकले लगभग १२ कठ्ठाभन्दा बढी सिमसार क्षेत्र डोजर लगाएर खोतेलिएको छ। सिमसारमा मुहान सुक्ने गरि सडक निर्माण हुनुमा स्थानीयहरुले वडाअध्यक्ष मुख्य भागेदार रहेको आरोप लगाए। बाँधको लागि संरक्षण गरिएको सिमसारमा वडाले सडक खन्न लगाउनु ठूलो गल्ति भएको संरक्षण क्षेत्रकै स्थानीय बाधु थारुले बताए।

‘मुहान संरक्षणका कार्यक्रमहरु भईरहेका बेला वडाले सडक खन्नु आफैमा निदनीय कार्य हो। मुहानमै सडक खनेसंगै मुल सुक्ने छ।’ स्थानीय थारुले भने, यहाँको मुहानबाट बगेको पानी धेरै गाउँहरु हुँदै पर्सेनीसम्म जान्छ। यहाँका वस्तीदेखि गाई गोरुको खानेपानीदेखि सिंचाई समेत हुने गरेको छ।’

२८ साल अघिदेखि मुहान संरक्षण र खानेपानी, सिचाईको प्रयोग गर्दै आएको सिमसार क्षेत्रलाई वडाअध्यक्षले मनपरि रुपमा जग्गा दलालीहरुसँग मिलेर डोजर लगाएको आरोप मुस्लिम समुदायका अगुवा सज्जत खानले लगाए।

‘भस्नावाँध मुहानबाट धेरै बस्तीहरुमा खानेपानी वितरण हुने गरी नवज्योती संस्थाले लिफ्ट मार्फत टंकी बनाएर वितरण गर्दैछ।’ उनले खानले भने, मुहान सुक्ने गरी संरक्षित सिमसारमै सडक खनेर वडाले ठूलो मुल्य चुकाउनु पर्नेछ।’

खानेपानीको मुहान संरक्षण गर्नुपर्ने वडाले मुहानमै डोजर चलाएर निश्चित भुमाफियाहरु मोटाउने गरि खेल खेलेको र जसले गर्दा जग्गा दलालीहरुको मतियार वडा कार्यालय भएको वडाका अगुवा रविन्द्रजंग शाहीले बताए।

वडा कार्यालयमा सडक निर्माणका लागि नगरमा सिफारिस गर्न टोलका केही व्यक्तिहरु आएकोले सिफारिस मात्र गरेको वीरेन्द्रनगर पालिका –१० का वडाअध्यक्ष रत्नबहादुर बुढाले बताए। ‘संरक्षित ठाउँमा सडक खन्न अनुमति दिइएको छैन्।’ वडाअध्यक्ष बुढाले भने, सिमसार क्षेत्र नभई अन्य ठाउँमा सडक खन्न सिफारिस गरेको हो। सडक खनेपछि कसैले पनि जानकारी वडामा दिएका छैनन्।’