☰ open Loading... 16 November 2024|  

औषध दुर्व्यसनी नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध छ -मन्त्री शाही
  | १० चैत्र २०७८, बिहीबार ०५:२७

 

जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले बढ्दो लागु औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोत साधनसहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई, र सचेतना मूलक कार्यक्रममा जोड दिएर लागु औषध दुर्व्यसनी नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

बुधवार जुम्लामा आयोजित लागु औषध तथा मदिरा नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागु औषध दुर्व्यसनी नरोकिने भन्दै चेतना विकासमा जोड दिन आवश्यक रहेको बताए ।

नीति निर्माण भए पनि बढ्दो बेरोजगारी, अभिभावकको लापरबाही, युवामैत्री नीतिको अभाव, विकासमा युवा सहभागिताको कमी लगायतका कारणले लागु औषधको प्रयोग बढेकोले रोजगारी सृजनासँगै गाउँ गाउँमा चेतना विकासका कार्यक्रम लिएर जान अनुरोध गरे ।

“चेतनाको विकास बिना लागु औषध दुर्व्यसनी अन्त्य सम्भव छैन । नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, प्रहरी प्रशासन, शिक्षक विद्यार्थीले लागु औषध विरुद्धको अभियान चलाउनुहोस् । लागु औषधको प्रयोग गलत हो भन्ने मनैदेखि भावना जाग्ने खालका जनचेतना मूलक कार्यक्रममा जोड दिनुपर्छ ।” उनले भने।
जुम्लाको प्रहरी प्रशासनलाई कसैको दबाब र प्रभावमा नपरी निर्भिक रुपमा लागु औषध नियन्त्रणमा लाग्न समेत उनलेले निर्देशन दिए ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले लागु औषध मदिरा नियन्त्रणका लागि साझा अभियान थाल्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले पाँच वर्षको अवधिमा जुम्लामा २० वटा लागु औषध दुर्व्यसनी विरुद्धको मुद्दा दर्ता भएको बताए।

नागरिकको सहयोग बिना प्रहरी एक्लैले जनशक्ति, स्रोत सधान अभावका बीच कुनै पनि घटना न्यूनीकरण गर्न नसक्ने भएकोले सबै हातेमालो गरेर लागु औषध, मदिरा, बालविवाह, छुई प्रथा विरुद्ध जुट्नुपर्नेमा उनलेले जोड दिए ।