☰ open Loading... 20 November 2024|  

‘म्यादी सरकार’को दिनगन्ती सुरुः अध्यक्ष ओली
  | १८ चैत्र २०७८, शुक्रबार ०५:१२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार परमादेशबाट जारी भएको म्यादी सरकारको संज्ञा दिएका छन्। अदालतको परमादेशबाट बनेको सरकारबाट कुनै आशा र अपेक्षा नराख्न पनि आग्रह गरे। बिहीबार कर्णालीका दैलेख, जुम्ला र कालिकोटमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भएका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताए।

हुम्लाको सिंजामा भएको कार्यक्रममा अध्यक्ष ओलीले एमालेप्रतिको जनसागर देखेर बाँकी दलहरुले गठबन्धन बनाएको पनि बताए। ‘अदालतबाट गठन भएको म्यादी सरकारको दिनगन्ती सुरु भइसकेको छ, यो सरकार संघीय र प्रदेशको चुनावसम्म पनि जानेवाला छैन,’ उनले भने, ‘एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ।’

अध्यक्ष ओलीले अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा लागेको आरोप पनि लगाए। उनले स्वार्थका लागि कांग्रेसको पछाडि लागेकाहरु चाँडै ढल्ने पनि बताए। ‘कांग्रेसका पछाडि लागेकाहरुको पार्टीको ठेगान पनि छैन,’ एकीकृत समाजवादी र माओवादीप्रति लक्षित गर्दै ओलीले भने, ‘यो सरकार चाँडै ढल्छ, जनतालाई अलमल्याउन खोज्ने सरकारको आयु धेरै हुँदैन।’ उनले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिएर समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन पनि अपिल गरे।

सिंजामा भएको कार्यक्रममा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएको बताए। उनले सिंजा क्षेत्रको विकासका साथै मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक र पर्यटकीयस्थलका साथै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको ब्राण्डिङमा आफू सक्रिय हुने बताए।

‘पहिले एक पटक मार्सी चामल खाएको थिए, निकै चर्चा चल्यो, अहिले त झन सिंजामै पुगेर मार्सी चामलको भात र सिमीको दाल खाएको छु, हिमा नदीको निकै स्वादिष्ट माछा खाएको छु,’ उनले भने, ‘सिंजाको विकासका लागि एमालेले काम गर्छ।’ अध्यक्ष ओलीले सिंजा सभ्यता, भाषा र संस्कृतिको बारेमा झण्डै पन्ध्र मिनेट समय खर्चेका थिए।

यस्तै कालिकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विश्वमा कहीँ नभएको अभ्यास अदालतले नेपालमा गरेको आरोप लगाए। ‘विश्वका कुनै पनि मुलुकमा सरकार संसदले बनाउन्छ,’ उनले भने, ‘नेपालमा भने अदालतले सरकार बनाएर विश्व समुदायलाई हसाएको छ।’ कालिकोटमा छोटो बोलेका अध्यक्ष ओलीले यहाँ कुनै दलको विरोध भने गरेनन्। उनले आफ्नो नेतृत्वमा सुरु भएका विकास योजनाहरु एमाले फेरि सरकारमा आएपछि मात्रै पूरा हुने बताए। ‘एमाले ताजा जनादेशबाट फेरि सिंहदरवार प्रवेश गर्छ,’ उनले भने, ‘अधुरा अस्पताल, सडक, खानेपानी, पुलपुलेसा, जलविद्युत आयोजना त्यसपछि मात्रै सुरु पूर्ण हुन्छन्।’

यस्तै दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले मुलुकभर एमाले प्रवेशको लहर चलेको बताए। उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण एमालेलेनै सुरु गरेको र उत्खनन् पनि एमाले सरकारमा आएपछि गर्ने उनले बताए।

पूर्व मुख्यमन्त्रीका स्वकीय सचिव एमाले प्रवेश

कालिकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिवसहित करिव चार सयलाई पार्टी प्रवेश गराएका थिए। पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य महेन्द्रबहादुर शाही, प्रदेश सदस्य रत्न बिकलगायतलाई ओलीले पार्टी प्रवेश गराएका थिए।

यस्तै सिंजा पुगेका ओलीले नेकपा विप्लव समूहका राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश (ख) का उपसभापति दानसिंह खत्रीलगायतलाई एमाले प्रवेश गराएका थिए।