उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न अल्पकालनि अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतका कायममुकायम मुख्य–न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले यही चैत २६ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न आदेश सुनाएको हो ।
सदस्यता विवादकाबीच निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट व्यवसायीले संघको कार्यालयमा तालाबन्दी गरेका थिए । संघले एकपक्षीय रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विवाद अदालतसम्म पुगेको हो । विधानबमोजिम खारेजीमा परेका सदस्यताको नवीकरणसम्बन्धी विषयलाई लिएर गत माघदेखि संघमा विवाद छ ।
संघको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै व्यवसायी सुरेन्द्रकुमार मल्लले अदालतमा रिट दायर गरेका थिए । रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यही चैत २४ गते बोलाएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ताद्वय विद्याभूषण मानन्धर र लोकबहादुर शाहले बहस गरेका थिए ।
अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालयलगायतलाई उच्च सरकारी वकिल कार्यालयमार्फत तथा निवेदक पक्षलाई निर्वाचन रोक्न आदेश जारी गर्नुपर्ने भए १५ दिनभित्र कारणसहित प्रमाण पेश गर्न भनेको छ ।