पोखरा । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ ।
नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको बैठकमा सत्तारुढ ५ दलका नेताहरुबीच सो विषयमा सहमति गरेको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए । उनले चैत २२ मा बस्ने पुनः अर्को बैठकमा प्रदेशका ११ जिल्लामा संगठनको वर्तमान सांगठनिक अवस्था’bout यथार्थ जानकारी प्रस्तुत गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय भएसँगै कार्यकर्ताहरुमा उत्साह भएको जनाए । उनले जुन स्थानीय तहमा जुन दलको पकड छ, सोही अनुसार नै अगाडि बढ्नुपर्ने प्रस्ताव दलका प्रतिनिधिले राखेको बताए ।
स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गरिने तयारी छ । नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङले केन्द्रको निर्देशन अनुसार वडा तहसम्मै गठबन्धन गरेर जाने सहमति भएको बताइन् ।
बैठकमा प्रदेश सभापति शर्मासँगै नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतको उपस्थिति थियो ।
गण्डकी प्रदेशमा ८५ स्थानीय तह छन् । त्यसमध्ये एकमात्र महानगर पोखरा महानगरपालिका हो । अघिल्लो स्थानीय तहको चुनावमा अधिकांश स्थानीय तहमा एमाले, काँग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा भएको थियो ।
नेकपा एमालेबाट यतिबेला माधवकुमार नेपालको टिम एकिकृत समाजवादी गठन भएसँगै निर्वाचनमा दलहरु गठबन्धन गरेर जाँदा एमालेका लागि चुनाव जित्न थप चुनौती देखिन्छ ।
गण्डकीमा ८५ स्थानीय तहमध्ये १ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । यस्तै ७ सय ५९ वटा वडा छन् । तीमध्ये गत स्थानीय चुनावमा सबैभन्दा बढी ४४ स्थानीय तहमा चुनाव जितेको थियो । दोस्रोमा रहेको एमालेले ३४, माओवादी ५, जनमोर्चा र स्वतन्त्र १–१ सिट जितेका थिए । स्वतन्त्रमा विजयी हासिल गरेका उनी अहिले एमाले प्रवेश गरेका छन् ।