टिपर ठक्करबाट सृष्टि र श्रेया घिसिङको मृत्युपछि पाँचौ दिन आइतबार उनीहरू पढ्ने गोकर्णस्थित विद्यालय पुग्दा विद्यार्थी र शिक्षकका आँखा रसाएका थिए। आइतबारको मौसमजस्तै गोकर्णस्थित बाग्मती नदीको किनारमा रहेको वर्ल्ड युथ इन्टरनेसनल विद्यालय त केही खुलेको थियो, तर विद्यार्थीको अनुहार धुम्म रह्यो।
‘नानीहरू रसिला आँखा लिएर आइतबार विद्यालय आए,’ प्रिन्सिपल निराजन सेढाईले भने, ‘फेरि एकपटक घाउ ताजा भएर आएको छ।’ नानीहरू एक अर्काको अनुहारमा हेर्दे रुन थालेपछि विद्यालयले सृष्टि र श्रेयाको सम्मानमा शोक कार्यक्रम पनि राख्न सकेन। ‘कार्यक्रम अगावै सबै रोइसकेका थिए,’ उनले भने, ‘हामीले उनीहरूलाई भुलाउने प्रयासमा रह्यौ।’
कक्षामा नानीहरूको अभाव नखट्कियोस् भनेर विद्यालयले कक्षा परिवर्तन गरेको छ। ‘कक्षा २ का विद्यार्थीलाई कक्षा ४ र ४ का विद्यार्थीलाई कक्षा २ मा राखेका छौ,’ उनले भने, ‘तर दुवै कक्षामा उनीहरूकै अभाव देखिन थालेको छ।’ कक्षाका नानीहरूले मात्र हैन, विद्यालयका करीब ६ सय विद्यार्थीले उनीहरूका साथीहरूलाई खोजिरहेको सेढाईले सुनाए।
नानीहरूको सजिलोका लागि विद्यालयले निःशुल्क बस सञ्चालनमा ल्याएको थियो। सृष्टि र श्रेयाका बुबा रोहनले घर अफरोडमा भएकाले बस स्टेसनसम्म बाइकमा ल्याउने गर्थे। ‘त्यो दिन स्टेसनअगाडि नै दुर्घटना घट्यो,’ सेढाईले सुनाए, ‘उनीहरू विद्यालय आउनुअगावै मृत्युको खबर आयो।’
उक्त दिनको खबरसँगै सिंगो विद्यालय रोएको सेढाईले सुनाए। ‘सडक बन्द भएकाले अन्य नानीलाई घर पुर्याउन सकेनौ,’ सेढाई सम्झन्छन्, ‘कलिला नानीहरूसँगै दिनभर विद्यालय रोइरह्यो।’
सधैं हाँस्दै रमाउँदै घर फर्किने नानीहरू कहिल्यै नभेटिने बाटामा जाँदै छन् भन्ने कुरा न उनकी आमाले सम्झिएकी थिइन् न कसैले सम्झेका थिए! सपनामा पनि नसोचेका यस्तो हृदयविदारक घटनाको क्षतिपूर्ति के हुन सक्ला!
चक्काजाम र हड्तालपछि भएको केही सहमतिसँगै शुक्रबार नानीहरूको दाहसंस्कार भयो। तर, यो पीडाको क्षतिपूर्ति केहीले पनि हुन नसक्ने सेढाईले बताए। ‘फूलजस्ता नानीहरू जल्दै गर्दाको क्षण सबैभन्दा बढी पीडादायक थियो,’ उनले भने, ‘अहिले बाग्मतीमा पानी हैन, आँसु बगिरहेको छ।’
नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारार्थ रोहनको स्वास्थ्यमा केही सुधार आएको छ। उनी अहिले कोहीसँग बोल्न सक्ने अवस्थामा छैनन्। घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको खाली टिपरले गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो।
सन्तानको नाममा रोहनका यी दुई छोरी हुन्। अस्पतालबाट घर फर्केपछि बुढा बाआमा र श्रीमतीले सन्तानको बारेमा सोध्ने छन्। ‘त्यतिबेला रोहनले के जवाफ देलान्, थाहा छैन,‘ अँध्यारो मुख लगाउँदै प्रिन्सिपल सेढाईले भने, ‘बढ्दो दुर्घटना कसरी रोक्ने हो, राज्यले यसबारे जवाफ दिनुपर्छ।’