रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका–२ सिम्रतुका ३६ वर्षीय नन्दकिशोर कठायत ७ वर्ष विदेश र भारतका विभिन्न ठाउँमा मजदुरीका लागि बसे । बाहिर काम गर्दा बंगुरबाट राम्रो फाइदा लिन सकिने बुझेपछि उनले गाउँ फर्किर्एर बंगुरपालन व्यवसाय गरिरहेका छन् । कठायत बिहान सबेरैदेखि बेलुका अबरेसम्म आफ्नो फार्ममा व्यस्त रहन्छन् ।
६ वर्षदेखि फार्म सफा गर्ने, बंगुरलाई दाना खुवाउने, बंगुरको उपचार गर्नेलगायत काममा उनको दैनिकी बितिरहेको छ । २०७२ देखि व्यवसाय थालेका उनले अहिलेसम्म झन्डै २२ लाख रुपैयाँ लगानी गरेका छन् । ‘म त यिनीहरूको साथीजस्तै भइसकेको छु,’ बंगुर देखाउँदै उनले भने, ‘बिहानदेखि रातिसम्मै यिनीहरूको स्याहारसुसारमा व्यस्त हुनुपर्छ ।’ उनले पाठापाठी उत्पादन गरेर पनि आम्दानी गरिरहेका छन् । मासुका लागि बयस्क बंगुर पनि बिक्री गर्छन् ।
दुई बंगुरबाट व्यवसाय थालेका उनीसँग अहिले ११ वटा माउ बंगुर छन् । ३ रोपनी जग्गा भाडामा लिएर व्यवसाय गरेका उनले त्यही जग्गा आफ्नो नाममा बनाइसकेका छन् । यसबाट महिनामा ४० हजार रुपैयाँ आम्दानी गरेका छन् ।
उनको फार्मबाट उत्पादन भएका बंगुरका पाठापाठीको माग दाङ, नेपालगन्जलगायत सहरहरूमा बढी छ । उनले ३ महिनाका पाठापाठी ५ हजार रुपैयाँमा बिक्री गरिरहेका छन् । बयस्क बंगुर २० देखि ३० हजार रुपैयाँमा बिक्री हुन्छ । स्थानीय बजारमा बंगुरको मासु ४ सय रुपैयाँ केजी बिक्री हुन्छ ।