सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नै लगानीमा कवर्ड हल बनाएको छ। छत्रेश्वरी गाउँपालिका –६ भोटेचौरमा ५४ लाख लगानीमा जिल्लाकै ठूलो कवर्ड हल बनाएको हो।
गाउँपालिकामा रहेका खेलाडीहरुको वृद्धि विकासका लागि महत्वपूर्ण योजनाका रुपमा पालिकाले उपभोक्ता मार्फत कवर्ड हल बनाएको हो। खेलहरु खुल्ला खेल्नुपर्ने खेलाडीहरुको बाध्यता कवर्ड हल निर्माण सम्पन्न भएसँगै सकिएको छ। सुरक्षित र सुविधासम्पन्न हल निर्माणले खेल क्षेत्रमा थप उचाई पुर्याउन मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।
कवर्ड हलमा ब्याडमिन्टन, भलिबल र टेबुल टेनिस कोर्डहरु बन्ने छन्। उपभोक्ता समिति बनाएर यूवा खेलाडीहरु जगत बुढाथोकी र यज्ञ विष्टको अगुवाईमा कवर्ड हल निर्माण भएको हो। पश्चिमका गाउँ तथा नगरपालिकाहरुले बिरलै मात्र खेल क्षेत्रका पूर्वाधारमा लगानी गर्ने गरेका छन्। छत्रेश्वरी गाउँपालिकाले कवर्ड हल बनाउनु सबै पालिकाका लागि एक उदाहरणीय काम भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत बुढाथोकीले बताए।