☰ open Loading... 16 November 2024|  

पत्रकार दीपेन्द्र ओली बने एमालेबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार
  | २९ चैत्र २०७८, मंगलवार ०६:००

लामो समयदेखि सुर्खेतमा पत्रकारिता गर्दै आएका पत्रकार दीपेन्द्र ओली स्थानीय तहको निर्वाचनका लागि वडाको उम्मेदवार बनेका छन् । दैलेखको गुराँस गाउँपालिका–८ मा उनी एमालेका तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

झण्डै १२ वर्षदेखि सुर्खेतस्थित रेडियो जागरण एफएमको विभिन्न फाँट हुँदै स्टेशन म्यानेजरको भूमिका निर्वाह गरिसकेका ओली कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।

ओलीले अहिले पनि खबर बजार नामक अनलाइन सञ्चालन गरिरहेका छन् । उनी एमाले गुराँस गाउँ कमिटीका सचिव समेत हुन् । उनले वडाअध्यक्ष जित्ने दाबी समेत गरेका छन् ।
वडाअध्यक्ष जित्लान त ओलीले ? 

उनी सञ्चारकर्मी भएको नाताले युवाहरूबीच लोकप्रिय र चर्चित छन् । तर चुनावमा भने मत परिणामले मात्र को बलियो, को कमजोर भन्ने निर्धारण गर्छ । ०७४ मा गुराँस गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली काँग्रेसले जितेको थियो । ८ वटा वडामध्ये ४ वटा वडामा मात्र एमालेले जितेको थियो । अहिले पत्रकार ओली उम्मेदवार बनेको वडा नं.–८ मा एमालेका पुर्ण बहादुर ओलीले ५१३ मत ल्याएर विजय भएका थिए ।

०७४ को मत परिणामलाई हेर्दा नेपाली काँग्रेसले ४८७ मत ल्याएको छ भने माओवादी केन्द्रले १९ मत ल्याएको छ । काँग्रेस र माओवादीको मत जोड्दा पनि एमालेले ५ मतले जितेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा माओवादी–काँग्रेस गठबन्धन बनाएर गएको खण्डमा पनि ओलीले जित्न सक्ने आधार छ ।