☰ open Loading... 19 November 2024|  

संकटमा चुनावी तालमेल
  | ४ बैशाख २०७९, आईतवार ०६:०३

सुर्खेत: यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरू लामो समयदेखि उम्मेदवार छनोटको प्रक्रियामै रुमलिएका छन् । गठबन्धन दलहरू आफ्नो पार्टीको जनमत राम्रो भएका जिल्लामा हाबी हुँदा भागबन्डाको विषय पेचिलो बन्दै गएको छ । आकांक्षी धेरै हुँदा पनि गठबन्धनमा उम्मेदवार टुङ्ग्याउन मुस्किल छ । एकातिर पार्टीभित्रको सन्तुलन र अर्कोतिर गठबन्धनमा भाग मिलाउनुपर्ने बाध्यताका कारण नेताहरू सकसमा छन् । कर्णालीका प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलहरूका पटक–पटक बैठक तथा छलफल भइरहेका छन् । तर, ती संयन्त्रहरू अझै ठोस निर्णयमा पुग्न भने सकेका छैनन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा तालमेल गर्ने भनिएका दलहरूमा एकअर्काबीच असन्तुष्टि बढ्दै गएको हो । उम्मेदवार चयनमा सहमति नजुरेपछि कतिपय जिल्लामा गठबन्धन नहुने संकेतसमेत देखिएको छ । गठबन्धन दलको एक घटक नेपाली कांग्रेस कर्णालीका अधिकांश जिल्लामा उम्मेदवार भागबन्डामा हाबी छ । उक्त दल नेकपा ‐माओवादी केन्द्र) र नेकपा ‐एकीकृत समाजवादी)लाई पेलेर जाने रणनीतिमा देखिन्छ । कांग्रेसका नेताहरू भने जनमत कम भएका पार्टीले पनि धेरै भाग मागेपछि सहमति हुन नसकेको दाबी गरेका छन् । कालीकोटमा माओवादी केन्द्रले अस्वाभाविक दाबी गरेको गठबन्धनका अन्य दलको आरोप छ । त्यहाँ माओवादी केन्द्रले वडा र पालिकामा ५० प्रतिशत भाग दाबी गरेको हो । कालीकोट कांग्रेस सभापति अम्मबहादुुर शाही माओवादीले अस्वाभाविक दाबी गर्न थालेपछि समस्या भएको बताउँछन् । ‘पटक–पटक बैठक बसियो,’ उनले भने, ‘माओवादीले आफ्नो अडान छोडेको छैन । बैठक औचित्यहीन भइरहेका छन् ।’ उनका अनुसार जिल्लामा शनिवारसम्म गठबन्धन संयन्त्रका सात वटा बैठक बसेका छन् । शाही भन्छन्, ‘कालीकोटमा माओवादी केन्द्र गठबन्धन गर्न सकारात्मक देखिएन ।’ अबको एक दुई दिनभित्र माओवादी केन्द्र सहमतिमा नआए आ–आफ्नै तरिकाले उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको कालीकोट कांग्रेसका नेताहरूले बताएका छन् । यो जिल्लामा माओवादीले पालिकाका चार प्रमुुख र पाँच उपप्रमुखमा दाबी गरेको छ ।

डोल्पामा गठबन्धन दलहरूबीच चुनावी तालमेल नै नगर्ने सहमति भएको छ । जिल्लास्थित गठबन्धन संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारको भागबन्डामा आ–आफ्नै अडान हुन थालेपछि चुनावी तालमेल नगरी एक्ला–एक्लै जाने निर्णय गरिएको कांग्रेस सभापति एवम् जिल्ला गठबन्धन संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीले बताए । सबै दलले आफूले नै धेरै उम्मेदवार उठाउन पाउनुपर्ने दाबी गर्न थालेपछि चुनावी तालमेल गर्न नसकिने अवस्था आएको उनी बताउँछन् । त्यहाँ खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादीले धेरै पालिकामा दाबी गरेका थिए । उनीहरूकै कारण गठबन्धन केन्द्रको निर्देशनअनुसार जिल्लामा अघि बढ्न नसकेको कांग्रेसको आरोप छ । चुनावी तालमेल गर्ने निर्णय गरेका सत्तारुढ पाँच दलमध्ये कर्णालीमा राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको उपस्थिति निकै न्यून छ । केन्द्रबाट एकमुष्ट उम्मेदवार टुङ्ग्याउने भनिए पनि निश्चित आधारहरू नहुँदा दलहरूले आफू अनुकूल दाबी गर्न थालेका छन् । जसले गर्दा ठूला राजनीतिक दलमा भागबन्डा विवाद छ भने त्यसको चेपुवामा साना दल परेका छन् । यही अवस्था केही दिन रहिरहे गठबन्धन नै संकटमा पर्ने नेताहरूको भनाइ छ ।

दैनिक छलफल र बैठक जारी रहेपनि कर्णालीका १० वटै जिल्लामा कुनै ठोस सहमति भएको छैन । केन्द्रीय गठबन्धनले जिल्लामा आठ बुँदे आधारभूत मापदण्ड पठाएको छ । सोहीअनुसार दलहरू पदीय बाँडफाँटको प्रयासमा लागेका छन् । पद बाँडफाँटमा प्रष्ट मापदण्ड भने छैन । सुर्खेतमा पनि शुक्रवार र शनिवार पाँच दलीय गठबन्धनको बैठक बसेको छ । संयन्त्रको बैठकमा वडा र पालिकाहरूमा कसले कति ठाउँमा उम्मेदवार उठाउने भन्नेबारे छलफल भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले जनाए । उनका अनुसार ५ गतेसम्म उम्मेदवारको टुँगो लगाउने गरी छलफलहरू जारी नै छन् । ‘हामी ठोस निष्कर्षमा पुगिसकेका छैनौँ,’ उनले भने, ‘प्रयासहरू सकारात्मक रूपमा अघि बढिरहेका छन् । एक÷दुई दिनमा सहमति जुट्छ होला ।’ सुर्खेतमा पनि गठबन्धनभित्र उम्मेदवार उठाउने सन्दर्भमा आ–आफ्ना दाबी छन् । केन्द्रले गरेको सैद्धान्तिक निर्देशनमा रहेर वडा तथा पालिका मिलाउने गरी कसरत भएको नेताहरूले बताएका छन् । २०७४ को स्थानीय निर्वाचनमा जितेको सिट, प्रमुुख पदमा विजयी भएको र समग्र मतभारका आधारमा उम्मेदवारी टुुङ्ग्याउने तयारी गरिएको बताइएको छ । त्यसका लागि साझा आधार बनाउन केही ढिला भएपनि गठबन्धन अन्योलमै भने नपरेको बडुवालको जिकिर छ ।

गठबन्धनमा अघिल्लो निर्वाचनमा दलले जनाएको सहभागिताका आधारमा केही स्थानमा उम्मेदवार फेरबदल हुन सक्ने जनाइएको छ । त्यस्ता स्थानमा पार्टीको अहिलेको अवस्था हेरेर पनि पद बाँडफाँट हुने बताइएको छ । दैलेखमा गठबन्धनको बैठक पटक–पटक बसिसकेको छ । तर, अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । शुुक्रवार र शनिवार बसेको संयन्त्रको बैठकमा नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा आफू बलियो रहेको दाबी प्रस्तुत गरेको छ । कांग्रेसले बढी सिट मागेपछि गठबन्धनमा प्रश्न समेत उठेको एकीकृत समाजवादीका एक नेताले बताए । उनी भन्छन््, ‘जिल्लामा ११ वटा पालिका छन् । कांग्रेसले आधाभन्दा बढीको प्रमुख नछोड्ने भनिरहेको छ । यस्तो तरिकाले कसरी सहमति हुन्छ ?’ कांग्रेसले गठबन्धनका अन्य दललाई पालिकाका प्रमुुख पदमा योग्य नठानेपछि समस्या भएको उनले बताए । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीकाअनुसार दैलेखमा समाजवादीले एक नगरपालिकासहित तीन गाउँपालिका प्रमुखमा दाबी गरेको छ । ।