कर्णाली प्रदेशमा सिमेन्ट उद्योग सञ्चालनका लागि झण्डै १५ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको छ। लगानी बोर्डको चैत १७ गतेको बैठकले सुर्खेतको बराहतालमा सिमेन्ट उद्योग सञ्चालनका लागि अनुमति दिएको थियो। लगानी बोर्डको अनुमतिसँगै सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी सुरु गरेको छ।
‘दुई वर्षभित्र उत्पादन सुरु गर्ने गरेर प्रक्रिया अघि बढाएका छौं,’ सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले भने, ‘उद्योगका लागि जग्गा प्राप्ती, पहुँचमार्ग निर्माण र संरचना निर्माणको काम सुरु गरिसकेका छौं।’ उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ। बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरेको छ।
उद्योग सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले भेरीको जामु पुलदेखि उद्योग स्थापना हुने क्षेत्र चौकुने र खानी लखरपाटादेखि उद्योगसम्मको पहुँचमार्ग (सडक) र खानी तथा उद्योगमा पानी उपलब्ध गराउने छ। उद्योगले असोजबाट पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरेको छ। ‘पूर्वाधार निर्माण सुरु गरेको दुई वर्षभित्र सिमेन्ट उत्पादन सुरु गरिसक्छौं,’ अध्यक्ष तिमिल्सेनाले भने, ‘कर्णाली प्रदेशकै पहिलो ठूलो उद्योग भएकाले स्थानीय, प्रदेश र संघ सरकारबाट आवश्यक सहयोग र सहजीकरण हुनेमा आशावादी छौं।’
उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ। लखरपाटामा करिव ९० वर्षका लागि पुग्ने चुनढुंगा रहेको अनुमान गरिन्छ। कर्णाली र छिमेकी सुदूरपश्चिममा हालसम्म सिमेन्ट उद्योग छैन्। कैलालीको सीमा नजिक स्थापना हुने उद्योगले उत्पादन सुरु गरेसँगै कर्णाली र सुदूरपश्चिममा सिमेन्टको मूल्य केही सस्तो हुनेछ। सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक तिमिल्सेनाले राष्ट्रिय राजमार्ग (महेन्द्र राजमार्ग) को पहुँच नजिकै भएकाले चौकुनेमा उद्योग स्थापना गर्न लागिएको बताए। उद्योगका लागि २२ मेगावाट विद्युत आवश्यक पर्छ।
नेपाल विद्युत प्राधिकरणले कैलालीको चिसापानी हुँदै सुर्खेतको चौकुनेसम्म विद्युत विस्तारको काम गरिरहेको छ। लगानी बोर्डले कर्णाली प्रदेश सरकारलाई उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन पत्राचार गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले हालसम्मकै ठूलो लगानी कर्णाली भित्रिएको बताउँदै प्रदेश सरकारले उद्योग सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने बताए। उद्योग सञ्चालकसँगको छलफलमा उद्योग र खानीसम्मको पहुँच मार्ग निर्माण, खानेपानीलगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकारले सघाउने बताए। ‘कर्णालीमा हालसम्म एउटा पनि ठूलो उद्योग नरहेको अवस्थामा झण्डै १५ अर्ब रुपैयाँ भित्रिनु खुशीको कुरा हो,’ मुख्यमन्त्री शाहीले भने, ‘उद्योग र खानीसम्मको पहुँचमार्ग निर्माण र पानीको व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ।’
मुख्यमन्त्री शाहीले सिमेन्ट उद्योगमार्फत प्रदेशलाई हुने योगदानका आधारमा प्रदेश सरकारले आवश्यक छुटको व्यवस्था गर्ने बताए। ‘कर्णाली प्रदेश सरकार बाह्य लगानी भित्र्याउन आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्न तत्पर छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सूर्यतारा सिमेन्ट उद्योगजस्तै अरु उद्योगहरुमा पनि लगानी भित्र्याउनका लागि सहयोग, सहजीकरण र समन्वय गछौं।’ उनले लाइसेन्स लिने र उद्योग सञ्चालन नगर्ने परिपाटीको अन्त्य गर्न तोकिएको कार्ययोजनाभित्र रहेर काम सुरु गर्न उद्योगीलाई आग्रह गरे। ‘असोजबाट पूर्वाधार निर्माण र दुई वर्षभित्र उत्पादन सुरु गर्ने कार्ययोजना बनाउनु भएको छ, त्यहीँ अनुसार काम गर्नुहोस्,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यक परेको ठाउँमा सहयोग गर्छ।’