☰ open Loading... 20 November 2024|  

स्थानीय तह निर्वाचनः पहिला कांग्रेसभित्रै एकता अपरिहार्य
  | ७ बैशाख २०७९, बुधबार ०५:३४

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेस–कांग्रेसबीच चुनावी प्रतिस्पर्धा भयो। एकले अर्काे पक्ष अर्थात संस्थापन पक्ष र संस्थापन इतर समूहले अस्थित्व स्वीकार गर्न सकेनन् र चुनावी प्रतिस्पर्धामा गए। यसको सीधा असर हो, ‘पार्टीको जिल्ला अधिवेशनमा गुटगत प्रतिस्पर्धा।’

जिल्लामा पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटगत मानसिकताले पार्टी तथा अन्य संघ संगठन र भातृसंस्थाहरुमा त्यसको असर देखिन थालेको छ। यति मात्र होइन यसको असरले आगामी वैशाख ३० हुने स्थानीय तहको चुनावमा समेत प्रभाव पार्न सक्ने देखिन्छ। लुम्बिनी प्रदेशको बाँकेमा पनि दुई समूहबीच पार्टी अधिवेशनमा प्रतिस्पर्धा भएको थियो। यहाँको चुनाव दोस्रो चरणमा जाँदा संस्थापन पक्षको एक समूहले संस्थापनकै उम्मेदवारलाई अन्तरघात गरे र संस्थापन समूहले पराजय भोग्नु पर्‍यो।

पार्टीभित्रको गुटको प्रभावले कांग्रेसभित्रै एकता कायम अझै हुन सकेको देखिँदैन। स्थानीय तहको चुनावमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्न थालेको कांग्रेसले त्योभन्दा पहिला पार्टीभित्रै एकता गर्नुपर्ने जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको भनाइ छ। पार्टीभित्र गुट तथा उपगुटको मानसिकता बोकेर चुनावमा जाँदा अन्तरघात हुने र पुनः कांग्रेसले हार व्यहोर्नु पर्ने उनीहरुको बुझाइ छ।

जिल्ला, प्रदेश र संघको अधिवेशन तथा महाधिवेशनमा गुटगत मानसिकताबाट प्रतिस्पर्धा भए पनि स्थानीय तहको चुनावमा त्यसको प्रभाव नदेखिनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले जनाए। पार्टीमा आन्तरिक स्वच्छ प्रतिस्पर्धा भए पनि चुनावमा गुटगत सोच अन्त्य गर्नुपर्ने उनको भनाइ छ। टिकट वितरणमा पार्टीको विधान अनुसार हुने र चुनावमा अन्तरघात गर्नेलाई विधानअनुसार कारबाही हुने बाँकेबाट केन्द्रीय सदस्य बनेका मैकुलाल वाल्मिकीले जनाए। ‘चुनावमा टिकटका लागि तानातान हुन सक्छ। पार्टीको विधानअनुसार वितरण हुन्छ,’ उनले भने, ‘तर टिकट पाइसकेपछि अन्तरघात हुने सम्भावना हुँदैन। भयो भने पनि पार्टीको विधानअनुसार कारबाही हुन्छ।’

सुर्खेतमा संस्थापन (देउवा) र संस्थापन इतर (शेखर समूह) का नेतादेखि कार्यकर्ता तहसम्म राम्रो सम्वाद नै छैन। पार्टीको जिल्लामा आफ्नो वर्चश्व स्थापित गर्न संस्थापन इतर (शेखर समूह) जिल्ला समितिमै नराम्रो धक्का खायो। जसका कारण अहिलेसम्म कांग्रेसभित्रै दुई समूहबीच पानी बाराबार छ।

चुनाव नजिकिँदै गर्दा गठबन्धनको विरोधमा आफ्नो स्थानीय तहका कार्यकर्तामाँझसम्म पुगेर उम्मेदवार घोषणा गर्दै शेखर समूह पुगेको छ। यसले आसन्न चुनावमा सुर्खेतमा प्रतिशोध साध्न आफ्नै उम्मेदवार हराउन कुनै कसर नराख्ने संकेत देखिएको छ। ६ गतेसम्म सुर्खेत उद्योग वाणिज्य संघको चुनावमा कांग्रेसभित्रकै दुईजना अध्यक्ष उठाएर आफ्नो साख जोगाउन लागे। यसले पनि स्थानीय तहको चुनावमा अन्तरघात हुने देखिन्छ।

विगतदेखि कडारुपमा सुर्खेतमा दुई समूह एकअर्काविरुद्ध लागेकाले योपटक नदोहोरिएला भन्न नसकिने कांग्रेसकै अगुवा नेताहरु बताउँछन्। विगतको चुनावका तिक्तता बिर्सेर नयाँ शिराबाट कांग्रेस नेताहरु मिलेर गए सुर्खेतमा बलियो देखिन्छ। टिकट नपाए कांग्रेसभित्रबाटै बागी उम्मेदवार उठाएर गठबन्धन तथा आफ्नै आधिकारिक उम्मेदवारलाई हराउन यसपालि खेल हुनसक्ने कांग्रेस निकटका नेताहरुको बुझाइ छ। स्थानीय तहको भागबन्दा नमिल्दा सल्यानमा गठबन्धन नगरेर चुनाव लड्ने घोषणा गरिएको छ।

आकांक्षी हुने तर, टिकट नपाए हराउने खेल भए कारबाहीको भागेदार हुनुपर्ने दैलेखस्थित आठबिस नगरपालिकाका नगर सभापति अर्जुन शाहीले बताए। चुनावमा हुनसक्ने अन्तरघातलाई रोक्न कडा अनुशासन कमिटी बनाएर सजकता अपनाइएको दैलेखका कांग्रेस पार्टी सभापति मणिराम रेग्मीले बताए। कर्णालीका अधिकांश जिल्लामा उम्मेदवार बढी भएको र गठबन्धनका कारण धेरै ठाउँमा छोड्नुपर्ने भएकाले अन्तरघात हुने सम्भावना बढी रहेको छ। पार्टी नेतृत्वले हुनसक्ने अन्तरघात रोक्न उम्मेदवार बाँडफाँडमा सजकता अपनाउनुपर्ने पार्टी कार्यकर्ताहरुको भनाइ छ।

तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पार्टीभित्रको एकता अपरिहार्य भएको बताएका छन्। ‘पार्टीभित्र एकता नहुँदा अन्तरघात हुन सक्छ,’ बाँकेका मोहम्मद अमिर खाँले भने, ‘पार्टीभित्रै एकताको वातावरण सिर्जना गर्नुपर्छ।’ अन्तरघात हुँदा अन्ततः कांग्रेसलाई नै घाटा पुग्ने कार्यकर्ताहरुको बुझाइ छ।