काठमाडौंः प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घन गर्ने ३५ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।
अनुगमनका कममा चैत २६ गतेदेखि अहिलेसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । काउन्सिलको विज्ञप्ति अनुसार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।
यस्तै ६ वटा पत्रपत्रिका, ३ वटा रेडियो, ५ वटा टेलिभिजन र १४ वटा अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको काउन्सिल जनाएकाे छ ।
दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।