काँकडभिट्टा — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६,४७८ मत पाएर विजयी बन्दा कांग्रेस उम्मेदवार इन्द्रवहादुर बुढाथोकीले २१,३११ मत पाए ।
शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो । कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराए । तामाङले ३०१८ मत पाउँदा बानियाँले १८५९ मत पाए ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत ल्याएर विजयी भएका थिए । यसपटक भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण पनि पराजय भोग्नु परेको अनुमान एक कांग्रेस नेताको भनाई छ । ‘टिकट वितरणदेखि नै झमेला भयो’, ती नेताले भने,‘जसको फाइदा एमालेले सहजै उठायो ।’
कांग्रेसको प्रदेश समितिले कृष्ण सिटौला पक्षधर केशवराज पाण्डेलाई उम्मेदवारका लागि सिफारिस गरे पनि मनोनयन दर्ताको अघिल्लो रात उनको टिकट खोसेर महामन्त्री विश्वप्रकाश शर्मानिकट बुढाथोकीलाई दिइएको थियो । जसका कारण सिटौला खेमा शर्मासँग असन्तुष्ट थियो । ‘सिटौला खेमाले बुढाथोकीलाई असहयोग गरेको अनुमान पार्टीको छ’, एक नगरस्तरीय नेताले भने ।एमालेले नगरका ११ वडा जितेको छ । कांग्रेसले ३ र माओवादीले एक वडा जितेको छ ।