दैलेख, १ असार । कृषि विकास कार्यालय दैलेखले व्यवसायिक रुपमा तरकारी उत्पानद गर्ने कृषकलाई पुरस्कृत गरेको छ । कार्यालयले जिल्ला भरिका ११ स्थानीय तहका १०० जना कृषकलाई एक कार्यक्रम आयोजना गरी पुरस्कृत गरेको हो ।
व्यवसायिक तरकारी उत्पादन क्षेत्रका कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत कार्यालयले १०० जना किसानलाई सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले जानकारी दिए । उनका अनुसार कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउनका लागि पुरस्कृत गरिएको हो । उनले प्रोत्साहन स्वरुप कृषकलाई १५ हजार रुपैयाँदेखि जनही ५० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिएको बताए । पुरस्कृत कृषकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रसमेत प्रदान गरिएको थियो ।
पुरस्कारको राशिभन्दा पनि किसानलाई गरिएको सम्मान महत्वपूर्ण भएको र यसले अरुलाई पनि कृषि कर्ममा लाग्न प्रेरित गर्न खोजिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्ट बताए । उनले अझै जिम्मेवारी र चुनौती पनि काधमा थपिएकाले अझै उदारणीय काम समेत गर्न आग्रह गरे ।
उत्पादनशील जमिनमा सम्भावित खेती गर्न बाध्य गर्ने गरी नगरपालिकाले नीति ल्याउने र कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने नारायण नगरपालिका दैलेखका कार्यवाहक मेयर रेशम बहादुर थापाले बताए । नगरपालिकामा कृषि क्षेत्रमा भएका समस्यालाई शून्यमा झार्ने गरी काम थालनी भएको उनले जानकारी दिए ।
यस्तै कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाले कृषि कर्ममा होमिएका पुरस्कृत किसाहरूलाई बधाई दिदै सबै कृषकले सरकारबाट प्राप्त गर्ने अनुदानलाई सही ठाउँमा प्रयोग गर्नका लागि आग्रह गरे ।
जिल्ला समन्वय समिति दैलेखका निर्वतमान प्रमुख प्रेम बहादुर थापाले पुरस्कृत कृषकलाई थप ऊर्जा प्रदान गर्ने र जिल्लामा व्यावसायिक तरिकाले कृषिमा लागेका किसानहरूलाई हौसला प्रदान गर्दै जाने बताए । कृषकका समस्या पहिचान गरी समाधान गर्न लाग्नु सबैकोको दायित्व भएको उनको भनाइ थियो ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापा, जिल्ला समन्वय समिति दैलेखका निवर्तमान प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिका दैलेखका कार्यवाहक मेयर रेशम बहादुर थापा, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालालगायतले सामूहिक रुपमा पुरस्कार वितरण गरेका थिए ।
कृषि विकास दैलेखका कृषि अर्थ विज्ञ झलक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कर्मचारी, पत्रकार, विभिन्न समुहका कृषकलगायतको उपस्थिति रहेको थियो ।