☰ open Loading... 18 November 2024|  

एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा
  | ८ असार २०७९, बुधबार ०५:४०

काठमाडौं : चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।

 

गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्यांक अनुसार एघार महिनाको अवधिमा नेपालले १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।

 

साढे १७ खर्बको आयात

 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्यांक अनुसार एघार महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

 

यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

 

साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात

 

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्यांक अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो । जसमा सबैभन्दा धेरै डिजेल आयातमा एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।

 

एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ । यस्तै, एघार महिनाको अवधिमा नेपालबाट एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ । रासस