कोहलपुर। रोपाइँमा किसानलाई डिजेलको पिरालो भन्दा कसैकलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । धानको बिउ राख्न देखि रोपाइँ गर्न किसानलाई यतिबेला डिजेलको पिरालो छ । बाँकेका किसान अहिले धानको बिउ राख्न र कोही रोपाइँ गर्न व्यस्त छन् ।
एक बिहानै हलो, राँगा लिएर खेतमा जाने रोपाइँ गर्ने गरेको किसान जयपाल मौर्यले बताए । ‘अहिले इन्धनको मूल्य बढ्दा हामी किसान मर्कामा परेका छौँ । वर्षा याम शुरु हुँदा पनि पानी पर्दैन । रोपाइँ गर्ने र धानको बिउ राख्न समेत गाह्रो भएको छ ।’
झन् यता सरकारले पेट्रोलियम पदार्थ र डिजेलमा मूल्यवृद्धिले आफुहरुको ढाँड सेकाएको पनि उनले बताए । यस वर्ष आम्दानी कम, लागत दोब्बर लाग्ने किसानहरुले गुनासो गरे । ‘सँधै पम्पसेट चलाउन सम्भव पनि छैन् । किसानलाई चोट माथि चोट सरकाले दिएको छ’ उनले भने, ‘नत मल, न जल । बेकामे सरकार ।’
कृषिमा लागत बढ्न थालेको तर प्रतिफल भने हरेक वर्ष घट्दो रहेकाले खेतीपातीमा आकर्षण घटिरहेको कृषकहरुले बताएका छन् । सँधै लाखौं बजेट कृषिमा छुट्याइन्छ । तर समयमै किसानलाई मल दिन सरकार सक्दैन् । अर्का किसान डुडुवा गाउँपालिका वडा नम्बर ६ बल्दीपुर्वाका गुरुदीन यादवले दुःख पोखे । एकातिर पानी पर्दैन् । अर्काे तिर कृषि मलको चरम अभाव र सिँचाइ सुविधा नहुँदा खेतीपातीमा उब्जनी कम हुने गरेको उनले बताए ।
‘यो वर्ष अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न निकै समस्या भएको छ,’ उनले भने, ‘पम्पसेट चलाउन पनि डिजेलको मूल्य दोब्बर भएको छ, यसले गर्दा समस्या भएको छ ।’
मल पाउने आश मरी सकेको उनले बताए । बाँकेलगायत आसपासका जिल्लामा यो वर्ष असारको पहिलो हप्तासम्म मनसुनी वर्षा हुन सकेको छैन । पम्पसेटबाट कति सम्भव होला ? यसतर्फ स्थानीय सरकारको ध्यान जान जरुरी रहेको किसानहरु बताउँछन् ।