लेकवेशी नगरपालिका–९ कालतडीका सन्तोष खाम्चा अगुवा कृषक हुन्। तीन वर्षदेखि उनी गाउँमा भैसीपालन व्यवसाय गरिरहेका छन्। दैनिक ५० लिटरबढी दुध सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गर्छन्। ‘भैंसी पालेरै अहिले महिनाको एक लाखजती कमाउँछु,’ ४५ वर्षीय खाम्चाले भने, ‘यताउति नभौतारिए यहीँ व्यवसाय पहिलेदेखिनै गरेको भए अति राम्रो हुन्थ्यो, अहिले सम्झेर पछुताउने गरेको छु।’
खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अहिले दुध दिइरहेका छन्। उनीसँगै श्रीमती र छोरा पनि यहीँ व्यवसायमा छन्। सदरमुकामसम्म दुध पुर्याउन अटो रिक्सा किनेका छन्। ‘विहान र बेलुका दुई पटक दुध पुर्याउन सदरमुकाम जानुपर्छ,’ खाम्चाले भने, ‘फर्कने बेला यात्रु ल्याएर आउँछौं।’
भैंसीपालन व्यवसायअघि उनले अरु थुप्रै कामहरु गरे। होटल व्यवसाय, कुखुरापालन, फेन्सी पसललगायत सञ्चालन गरेर ऋण थपिँदै गएपछि उनी विदेसिने तयारीमा पुगेका थिए। रोमानीया जानका लागि काठमाडौं पुगेका उनलाई छिमेकीले कृषि व्यवसाय गर्न सुझाए। ‘भारतमा मजदूरीदेखि नेपालमा होटल, कुखुरा, फेन्सीलगायतका व्यवसाय गरेँ, ति व्यवसायबाट फाइदा हुनुको सट्टा ऋण थपिन थाल्यो,’ खाम्चाले भने, ‘ऋणको भारीले च्याप्न थालेपछि विदेश जान काठमाडौं पुगेको थिएँ, छिमेकीले कृषि व्यवसायमा लाग्न दिएको सुझाव अनुसार गाउँ फर्केर भैंसी पाल्न थालेको हुँ।’
तीन वटा भैंसीबाट सुरु भएको उनको व्यवसाय तीन वर्षमा १८ वटामा पुगेको छ। ‘एक वर्षपछि आउनु भयो भने ५० भन्दा धेरै भैंसी देख्न पाउनुहुनेछ,’ नागरिकसँग खाम्चाले भने, ‘अरु व्यवसाय गर्दा लागेको ऋण महिनाको ५० हजारका दरले तिर्दै आएको छु।’ सानै उमेरमा भागेर भारत पुगेका उनले सुरुमा वीरेन्द्रनगरमा होटल व्यवसाय गरे। त्यसमा सफल नभएपछि गंगटे बजारमा कुखुराको मासु पसल चलाए। उनी त्यसमा पनि सफल भएनन्। ट्याक्टर र बस किने। त्यसले अझ ठूलो ऋणको भारी बोकायो।
‘अन्तिममा फेन्सी पसल चलाएँ, बाहिरबाट सामान ल्याउने र केही फाइदा खाएर बेच्ने व्यवसाय भएकाले फाइदा धेरै नभए पनि घाटा नहोला भन्ने थियो,’ खाम्चाले भने, ‘सामानजति उद्यारो गयो, समूह, सहकारी र साहुबाट लिएको ऋणको व्याज बढ्दै गएपछि विदेसिने तयारी गरेको थिएँ।’
खाम्चा अहिले आफूले गरिरहेको व्यवसायबाट पूर्ण सन्तुष्ट छन्। भैंसीपालन व्यवसाय फस्टाउँदै गएकाले उनी नयाँ गोठ बनाउँदैछन्। कृषि ऋण लिएर समूह, सहकारी र व्यक्तिको ऋण तिरेका छन्। ‘दुध बेचेरै महिनाको ५० हजार बैंकको ऋण तिर्ने गरेको छु, बाँकी रकम समूह र सहकारीमा जम्मा गर्छु,’ उनले भने, ‘ढिलो वृद्धि फिर्यो, पहिल्यै गाउँ आएर यो व्यवसाय गरिदिएको भए ऋणमा डुब्नुपर्ने त थिएन्।’ खाम्चाले भैंसीसँगै बाख्रा र बंगुर पनि पालेका छन्।
कलतडीकी जैसरा विर्कटाले पनि दुई वर्षदेखि छ वटा भैंसी पालेकी छन्। उनी दैनिक २० लिटर दुध विक्री गर्छिन्। ‘पहिले व्यवसाय केही दिएन्, श्रीमान कालापहाड (भारत) जानुहुन्थ्यो, उहाँले कमाएर पठाएको पैसाले जोहो चलाउँथ्यौं,’ उनले भनिन्, ‘भैंसी पाल्न थालेदेखि दुध बेचेरै महिनामा २५–३० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छौं।’ विर्कट्टाका छोरा अध्ययनका लागि काठमाडौंमा छन्। छोराको खर्च पनि घरबाटै पठाउने गरेको उनको भनाई छ। ‘विहान र बेलुकी दुई पटक जम्मा भएको दुध वीरेन्द्रनगरमा जान्छ,’ उनले भनिन्, ‘हप्ता–हप्तामा पैसा घर आइपुग्छ।’
खाम्चा र विर्कट्टाजस्तै यहाँका २७ जना कृषकले भैंसीपालन व्यवसाय गरिरहेका छन्। भैंसीपालक कृषकले कालतडी भैंसीपालक कृषक समूह गठन गरेका छन्। उक्त समूहलाई संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी)ले सहयोग गरिरहेको छ। ‘भकारो सुधार, मेसिनरी सामाग्री, घाँस, कुलोलगायतमा एएसडीपीले सहयोग गर्दै आइरहेको छ,’ समूहका सचिव दिपककुमार ढकालले भने, ‘पहिले सबै कालापहाड जान्थ्यौं, अहिले गाउँमा भैंसीपालन व्यवसाय गरिरहेका छौं।’
एएसडीपीका कार्यक्रम संयोजक विनोद भट्टराईले उत्पादन, बजारीकरण, कृषि सडक, सिंचाईसँगै कृषकहरुलाई कृषि विकास बैंकमार्फत ऋण दिनका लागि सहयोग र सहजीकरण गर्ने गरिएको बताए। ‘कृषकहरुको पनि लागत सहभागीता रहने गरेर उत्पादन, बजारीकरण, कृषि सडक, कुलोसँगै वित्तिय साक्षरतासम्म हामीले सहयोग र सहजीकरण गर्ने गरेका छौं,’ कार्यक्रम संयोजक भट्टराईले भने, ‘सहयोग सानो देखिएपनि यसको उपलब्धी धेरै महत्वपूर्ण छ।’
एएसडीपीले सामुदायिक कृषि प्रसार सेवा केन्द्र पनि सञ्चालन गरेको छ। ‘यसले कृषक र सेवा प्रदायकलाई एउटै ठाउँमा ल्याएको छ,’ एएसडीपीका पोषणविज्ञ राजेन्द्रप्रसाद गिरीले भने, ‘सेवा केन्द्रमार्फत कृषकका पशु–चौपाया, अन्नवालीमा देखिएका समस्याको सेवा प्रदायकमार्फत समाधान गर्नुका साथै उनीहरुका उत्पादनको बजारीकरणमा पनि सहज भएको छ।’ एएसडीपीले कृषकहरुलाई वित्तिय साक्षरताका साथै व्यवसायिक योजना निर्माण, पोषण कक्षा पनि सञ्चालन गर्ने गरेको छ।