☰ open Loading... 17 May 2024|  

सल्यानका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
  | १२ असार २०७९, आईतवार ०५:४८

सल्यान । सल्यानका विभिन्न सामुदायिक विद्यालयका अध्ययनरत विपन्न तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको कुमाख गाउँपालिका ३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखी ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा विपन्न विद्यार्थीहरूलाई झोला, कापी, कलम, वर्णमाला लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले यस्ता टुहुरा, अति विपन्न बालबालिकाको डाटा राख्न र यस कार्यक्रमबाट बालबालिकाहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आफू निर्वाचित भइसकेपछि आफ्नो मुख्य ध्यान शिक्षा र स्वास्थ्यमा रहेको बताउनुभयो । न्यून आय भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने उनको भनाई छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपर्ने उहाँको भनाई छ । शिक्षा, स्वास्थ्य आधारभूत कुरा भएकाले राज्यले त्यसको दायित्व लिने उनको भनाई छ ।

विपन्न, टुहुरा बालबालिका कुमाख गाउँपालिकाका विद्यालयमा अझ धेरै भएको र क्रमशः सबैलाई सहयोग गर्न सके यस अध्ययन केन्द्रको प्रभावकारिता बढ्ने र यसका लागि स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख दीपककुमार चन्दले जानकारी दिए ।

सामुदायिक अध्ययन केन्द्रले शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीमा उत्साह जोस, जाँगर र शैक्षिक क्षेत्रमा बालबालिकाले अब्बल उपलब्धिहरू हासिल गरी आफ्नो भविष्य उज्ज्वल बनाउने तर्फ ध्यान दिने वडा अध्यक्ष केवल बहादुर रानाको भनाई छ ।संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको सिद्ध कुमाखी अध्ययन केन्द्रका अध्यक्ष भुवनेश्वर शर्माले बताए ।