यामराज बिष्ट
दैलेख । दैलेखमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आर्यात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । कृषि विकास कार्यालय कार्यालयले नारायण नगरपालिका– ४ स्थित मार्सीखेतमा दिवसको अवसर पारेर खेतमा धान रोपाईपछि दही चिउरा खाएर धान रोपाइँ गरिएको थियो ।
रासायनिक मल, सिँचाईको पहुँच लगायतमा ध्यान दिनसके दैलेखमा धानमा आत्मनिर्भर बन्न सकिने कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले जानकारी दिए । दैलेख जिल्लामा १ हजार २सय हेक्टरमा धान खेति गरिएको छ । यसबाट दैलेखमा ३४ हजार ५ सय मेट्रिक टन धान धान हुने गरेको उनले बताए । ८ हजार ५सय ३०हेक्टर बर्षे धान, १६सय ७० हेक्टरमा घौया धान हुन्छ ।
दैलेख जिल्लामा वार्षिक ११ सय ३० मेट्रिक टन खाद्यान्न अभाव अपुग हुने गरेको उनले जानकारी दिए । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लामा खाद्यान्नमा परनिर्भरता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरे । परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनुपर्ने उनले बताए ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय दैलेखका प्रमुख नवराज शाहीले कृषि वस्तुको आयात दिनप्रतिदिन बढ्दो रहेकाले निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । देशको श्रम शक्ति विदेशिएका र मल सिँचाईको असुविधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउँदै गएकोले बेलैमा सचेत हुनुपर्ने उनको भनाइ छ ।
धान उत्पादन बढाउन किसानको पनि महत्वपूर्ण भुमिका रहेको प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्माले बताए । उनले धानको उत्पादकत्व बढाउन राम्रो योजनासँग अगाडि बढ्नुपर्नेमा जोड दिए । कृषि पेशा नै आर्थिक समृद्धिको आधार भएकोले बाँझो खेत नराख्न सबैलाई उनले अनुरोध गरे ।
सरकारले प्रत्येक वर्ष असार पन्ध्रलाई राष्ट्रिय धान दिवस तथा महोत्सवका रुपमा मनाउँदै आइरहेको छ । कार्यक्रममा सहकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।