काठमाडौं : तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय सदस्य बामदेव गौतमले अन्तत आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका छन् । नेकपा एकता भंग भएपछि नेकपा एमाले र माओवादी केन्द्र मात्रै ब्युँतिएन, माधव नेपाल नेतृत्वमा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो । नेकपा एकता भंग यताका कुनै पनि राजननीतिक ध्रुवमा नखुलेर तत्कालिन नेकपा ब्युँत्याउने भनी अभियान चलाइरहेका बामदेव गौत्तमले पनि अन्तत नयाँ पार्टी नै बनाए । यो संगै तत्कालिन नेकपा एकता भंग भएपछि नेकपाको विरासत दाबी गर्दै चार वटा कम्युनिस्ट पार्टी बनेका छन् ।
बामदेवले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’ घोषणा गरेका हुन् । नयाँ पार्टीमा गौतम पार्टी संयोजक छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य छ । पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहनेछन् ।
पार्टी संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाइएको छ ।
नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका थिए । नयाँ पार्टी घोषणा गर्दै गदाृ पनि उनले प्रमुख दुई उदेश्य सुनाएका छन् । पहिलो – नेपालमा रहेका सबै कम्युनिस्टहरुबीच एकता । दोस्रो– सबै कम्युनिस्टहरुबीच एकता सम्भव नभए बिचार मिल्ने पार्टीसँग आफ्नै पार्टीको एकता ।
यस्तो उदेश्य राख्नुको उदेश्यबारे उनको प्रष्टीकरण छ, नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गयो, एकीकृत गर्नुपर्ने आवश्यकता देखियो ।’
आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै धराशायी बनेकोले क्म्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गर्नुपरेको उनको जिकिर छ ।
आफू हालसम्म संलग्न भएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उनले आफुले घोषणा गरेको नयाँ पार्टीले पनि उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।कम्युनिस्टहरु नमिले पाँच बर्षभित्रै नेपालबाट कम्युनिस्टहरु खतरामा पर्न सक्ने उनको विश्लेष्ण छ ।
‘प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ, यदि एकता वा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली कांग्रेसले गठबन्धनबाट, नभए पनि सबैभन्दा ठूलो पार्टीको रूपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ’ उनी थप्छन्, ‘आउँदो चुनावपछि पाँच वर्षसम्म नेपाली कांग्रेसको मातहतमा सबै कम्युनिस्टहरु रहनेछ र दोस्रो निर्वाचनमा नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यक्ता पर्नेछैन् । कम्यसनिस्टहरु सकिनेतिर जानेछन् ।’
यही तर्कका आधारमा गौत्तमले पुनः नेकपा एकता ब्युताउनुपर्ने जिकिर गर्दै आएका छन् ।
०७४ सालमा भएको प्रदेश र संघीय चुनावमा तालमेल गर्दै नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी नै एकता गरेका थिए । तर, नेकपा एकताले पुर्णता नपाउँदै विवाद शुरु भयो । ०७७ पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुग्यो । पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु सडक आन्दोलनमै उत्रिए । उक्त विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदियो । त्यसपछि पनि नेकपा विवाद समाधान हुनु भन्दा थप चर्किँदो रुपमा अगाडि बढ्यो । नेकपा भित्र विवाद चर्किरहेकै बेला सर्वोच्च अदालतले नाम सम्बन्धी विवादमा नेकपा एकता भंग हुने फैसला २३ फागुन २०७८ मा गरिदियो ।
बामदेव गौत्तम फेरि पनि पार्टी एकतामा जोड दिएर बसे । तर, एमाले र माओवादी पुर्व पार्टी ब्युताएर अगाडि बढे । माधव नेपाल केही समय एमालेमै बसेर संघर्ष गरे । २ भदौ २०७८ मा माधव नेपाल नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग नै गए । ९ भदौमा माधव नेपालले नयाँ पार्टीको मान्यता निर्वाचन आयोगबाट पाए ।
१४ असार २०७९ मा आइपुग्दा बामदेवले पनि नयाँ पार्टी घोषणा गरे । यो संगै तत्कालिन नेकपा औपचारिक रुपमै चार टुक्रा –पार्टी)का रुपमा देखा परेको छ ।