☰ open Loading... 18 November 2024|  

१८ बर्षदेखी जग्गा सेनाको कब्जामा
  | २१ असार २०७९, मंगलवार ०५:१५

army camp dullu
दैलेख । दश बर्षिय सशस्त्र द्धन्द्धको बेला १७ हजार मानिसले ज्यान गुमाए । काख रित्तियो सिउँदो सिदुर पुछियो । केही व्याक्ति अंगभंग भए । द्धन्द्ध पश्चात बृहत शान्ती सम्झौता भयो । व्यवस्था बदलियो । देश लोकतन्त्र हुदै गणतन्त्र पुग्यो । तर तत्कालिन द्धन्द्धको बेला पाएका नागरिकका पिडा उस्तै छन् कम हुन सकेका छैनन् । त्यसैको एकप्रतिनिधी घटना हो,दैलेख दुल्लूको । 
क्याप्सन : नेपाली सेनाले जग्गा कब्जामा लिएपछि क्षतिपुर्ति र मुआब्जा नपाएका पिडित परिवार ।

२०६१ कार्तिक २३ मा साविकको दुल्लू गाविस १ हाल दुल्लूनगरपालिका ८ का राजु बज्राचार्यलाई माओवादीले कार्यकर्ताले बलजफती वडा जनसरकार प्रमुख बनाएर अनि कम्व्याट पहिराईदिए । भोली पल्ट सदरमुकामबाट सेना दुल्लू पुग्यो । मिलिसियाको पोशाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले । राजुको शब सेनाले खाल्डो खनि गाड्यो । नखोतल्नु लास सँग बम छ भनेर त्रास देखायो । घटनापछि सर्वत्र त्रास फैलियो । गाउँले आफैले लाश उधनेर आर्यघाटमा लैजादै गर्दा माओवादीले रोक्न खोजे । माओवादीबाट क्रुद भएका स्थानीय माओवादीका सँग जाईलागे लखटे । त्यहाँबाटै माओवादी नै दुल्लू विद्रोह शुरु भयो । दुल्लूबाट जनता नै माओवादीको प्रतिकारमा लागेपछि माओवादी नेपालमै पहिलो घटना थियो

माओवादी नेता कार्यकर्ताहरुलाई कुटपिट गरेका स्थानीय माओवादीहरुले आफुहरुमाथी नै आक्रमण गर्ने हुन् की भनेर सशंकित बने । त्यहिबेला दुल्लुका स्थानीयले माओवादी ज्यादतीविरुद्ध संगठित भएर प्रतिकार गर्ने निधो गरे । उनिहरुको योजना, माओवादीलाई गाउँ छिर्नै नदिने, त्यसका लागि रातदिन गस्ती गर्ने थियो । कात्तिक २८ देखि दिनदिनै जुलुस निकाल्न सुरु भयो । दुल्लुबाट सुरु भएको माओवादीलाई प्रतिकार गर्ने अभियान तत्काालिन १३ गाविसमा फैलियो । कात्तिक २८ देखि मंसिर ७ गतेसम्म प्रतिकार जुलुसहरु निस्किए ।

माओवादी ज्यादतीविरुद्ध प्रतिकार गर्ने अभियान अर्थात ‘दुल्लु विद्रोह’ को खबर देशव्यापी फैलियो । माओवादीविरुद्ध जनता जागेपछि राज्यको ध्यान दुल्लुमा केन्द्रीत भयो । दुल्लु विद्रोहकै क्रममा नागरिक समाजको कार्यक्रम अन्तरगर्त स्थानीय महिला र बालबालिकाको अगुवाइमा मंसिर ७ गते दुल्लुस्थित पटांगिनीमा विशाल सभा भयो । सभामा तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरुको टोली सहभागि थियो । सभाबाट दुल्लु क्षेत्रमा ३ करोडको ‘विशेष विकास कार्यक्रम’ घोषणा गरियो । सोहि सभाबाट गृहमन्त्री खड्काले दुल्लुका नागरिकको सुरक्षाका लागि सेनाको फौज राख्ने घोषणा गरे । स्थानीयको माग अनुसार मन्त्रीसहितको टोलीको सुरक्षाका लागि दुल्लु पुगेको सेनाको टोली त्यहिँ बस्यो ।

दुल्लू विद्रोह पछि दुल्लूमा ४२ घरलाई विस्थापति गरि दुल्लुको गढीमा सेना राखियो । विस्थापित हुनेमा २५ घरधुरी दलित र १८ गैरदलितको ५४ रोपनी जमिन सेनाले कब्जामा लिएर बेश क्याम्प बनायो । माओवादीको ज्यादती विरुद्ध विद्रोह गरेपछि सुरक्षाका लागि भन्दै कसैले जमिन दिए भने कसैलाई स्थानीय नेता कार्यकर्ताले जवरजस्ती जग्गा दिन लगाएको स्थानीयबासी नन्दकला दमाईले बताईन । उनले भनिन,मेरा बुढा जया दमाईको नाममा १२९० वर्गमिटर जग्गा छ । हामीले अहिले सम्म कमाउन पाएका छैनौ । मुआब्जा,क्षतिपुर्ति पाएननौं । त्यतिवेला गाउँका ठालुले जग्गा नदिएमा माओवादी भनिदिने भनेपछिले डरले दियाँ,उनले भनिन् ।

नेपाली सेनाले जग्गा कब्जा गरेर बसेको १८ बर्ष पुग्यो । तर जमिन हडपेर विस्थापित परिवारलाई राज्यले कुनै सेवा सुविधा दिएको छ । न त क्षतिपुर्ति न त मुआब्जा नै । जग्गा विहिन परिवार जीवनयापनका लागि मुग्लान लागेका छन् । विस्थापित भएका परिवार आफन्त र छरछिमेकीको घरमा बस्दै आएका छन् । नागरिकको हातमा जमिनको पुर्जा बाहेक अरु जमिन छैन जमिन नेपाली सेनाले कब्जा गरेर बसेको छ । जमिन नहुँदा विस्थापित परिवारलाई के खाने चिन्ता लागेको अर्की पिडित डिलसरा दमाईको भनाई छ ।
डिलसराको जस्तै ७० बर्षिय मैसरा दमाईको पनि उस्तै पिडा छ । नातिनी सँग घरमै बसेकी छन । बुहारी र छोरा उनका मुग्लान गएका छन् । मेरा माईती र पोइल दुईवटै ठाउँको जमिन सेनाले लियो । म एक्ली विधुवा के खाने मैसराले गुनासो गरिन ।

जमिन नेपाली सेनाले कब्जामा लिएपछि शेरबहादुर दमाई सहित १० घरधुरीका परिवार भारत गएका जहान परिवार पाल्नको लागि भारतमा मजदुर गर्न गएका अमरसिंह दमाईको भारतमै ज्यान गयो । कमाई खाने जग्गा सेनाले लिएपछि परिवारसहित भारत जानेहरु बाहेक यहाँ बस्नेहरुको घरमा पुरुष जत्ति भारतमै छन् । घरमा बृद्धबृद्धा, महिला र बालबालिका रहेको हेमबहादुर भण्डारीले बताए । मात्रै छन् ।
२०७५ भदौ २७ मा रक्षा मन्त्रालयले दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद राजबहादुर बुढाको नाममा मुआब्जाबारे पत्र पठायो । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई बोधार्थ पठाईएको पत्रमा आव २०७५/०७६ बाटै जग्गा खरिद प्रक्रिया अगाडी बढाउने योजना रहेको ब्यहोरा उल्लेख छ । २०६८ सालमा दुल्लु सुरक्षा वेश क्याम्पलाई मर्ज गर्न व्यवस्था मिलाईएकोमा स्थानीय जनताको माग बमोजिम फौज तैनाथलाई निरन्तरता दिईएको छ ।’

दैलेखको दुल्लूमा नेपाली सेना जमिन कब्जामा लिएका आफन्त अहिले जीवनयापनका लागि भारतमा मजदुरी गरिरहेका छन । जमिन विहिन भएका पुरुष कोही पनि गाउँमा छैनन । नागरिकको हातमा जग्गाधनी प्रमाणपुर्जा भएपनि जमिन उपभोग गर्न पाईरहेका छैनन । १८ बर्षदेखी नेपाली सेनाको कब्जामा जमिन छ । तिरो तिरी रहने तर उपभोग गर्न नपाउँदा सरकारले नै सुकुम्बासी बनाउन लागि रहेको भान हुन्छ । सरकारले सुकुम्बासी र भुमिविहिनलाई जग्गा जमिन दिलाउन लागिरहेको बेला जमिन भएका नागरिक सुकुम्बासी हुनुले सरकारमाथि प्रश्न पिडित परिवारले गरिरहेका छन् । १८ बर्ष देखी सरकारले हडपेको जमिनको मुआब्जा, उत्पादन सहित क्षतिपुर्ति दिलाउन सरकार तप्परता देखाए निराशावादी बनेका विस्थापित परिवारमा खुशी आउने थियो की ।