नेपाली समाजमा बालविवाह गर्ने प्रचलन एका एक परिवर्तन हुदै आएको छ । हाम्रो सामाजिक परम्परा र रीतिरिवाज अनुसार घरमा छोरा छोरी युवा अवस्थामा प्रवेश गर्ने वित्तिकै परिवार र छिमेकमा विवाहको हल्ला चल्ने गथ्र्याे । केटातिरका अभिभावक केटीको घरमा बुहारी खोज्दै मगनी गर्ने र त्यसको केही समय पछि दुवै परिवारको सहमतीमा हिन्दु संस्कार अनुसार कर्मकाण्ड गरी दुई फरक परिवारका विपरित लिङ्गबिच विवाह भएको औपचारिक मान्यता दिइन्थ्यो । ति दुई जोडी बिच नत विवाह पूर्व परिचय हुन्थ्यो नत माया प्रेममा बाधिएका हुन्थे । अभिभावकको सहमतीमा गरिएको विवाहलाई स्विकार गरी त्यो विवाहित जोडी जीवन जीउन तयार हुन्थ्यो ।
कानुनी रुपमा कुनै आधार नभए पनि सामाजिक र धार्मिक रुपमा त्यो भन्दा बलियो औपचारिक मान्यता अरु कुनै हुन्थेन् । कलिलो उमेरमै विहे गर्दा छोरा छोरी छिटै जन्मिने, पारिवारिक बन्धनमा बाधिएपछि पढाई विचमै रोकिने र उमेर बढ्दै जाँदा सम्बन्ध विच्छेद लगायत परिवारीक जीवनमा असहमती लगायतका समस्याहरु सिर्जना हुने गर्दथे । तर अहिले आफ्नो धार्मिक रीतिरिवाज अनुसार विवाह गर्ने सामाजिक संरचना पूर्णरुपमा भत्किएको छ । नत केटा पक्षका बुहारी खोज्दै मगनी गर्छन् नत धार्मिक प्रचलन अनुसार विवाहनै हुन्छ । त्यो सामाजिक संस्कारको विवाह अहिले केटा केटीबिच माया प्रेम हुदै लिभिङ्ग टुगेदरका रुपमा झाङ्गिदै गएको छ ।
१० देखि १९ वर्ष उमेर समूहकालाई किशोरकिशोरी भनेपनि सामान्यतया १३ १४ वर्षको उमेर देखि किशोर किशोरीमा हुने शारीरिक तथा मानसिक लक्षणहरु देखा पर्न गर्छन् । किशोरहरुमा स्वर मोटो हुदै जानु, विर्य उत्पदान र किशोरीहरुमा महिनावारी, स्तनमा बृद्धि हुन किशोरा अवस्थाका लक्षण हुन । यो सँगै यीनीहरु विपरित लिङ्गप्रति आकर्षित हुने, माया प्रेममा बस्ने एक अर्का बिच नजिक भएको महसुस गर्ने गर्दछन् । यसलाई समाजले स्वभाविक परिवर्तनका रुपमा लिन सक्दैन । नत स्विकार गर्न सक्छ ।
आफ्नो बालबालिकाले विस्तारै युवाअवस्थामा प्रवेश गरेको जानकारी नै नपाएका अभिभावकलाई उनीहरुको विवाहका बारेमा खासै चासो हुदैन् । सबै अभिभावकले सोचेका हुन्छ् आफ्नो बच्चा बढेर ठुलो मान्छे बनोस । तर त्यो नभई ग्रामिण क्षेत्रका अधिकाँस बालबालिका अभिभावकलाई जानकारीनै नहुने गरी विपरित लिङ्गप्रतिको माया जालमा फसिरहेका देखिन्छन् ।
किशोरा अवस्थामा प्रवेश गरेका बालबालिकालाई विद्यालय र घर परिवारमा समेत त्यही अनुसारको यौन शिक्षा, परिवार र विवाहका बारेमा शिक्षित गराउन आवश्यक छ । हिन्दु समाज र संस्कारले यौन शिक्षालाई अहिले पनि खुल्ला रुपमा पचाउन सकिरहेको छैन् । युवाअवस्थामा प्रवेश गरिसकेपछि हरेक व्यक्ति भित्र उत्पन्न हुने यौन उत्तेजनालाई सामान्य रुपमा लिन नसकिने हाम्रो समाज भित्र रहेको बन्द संस्कारका कारण पनि बालविवाहले प्रश्रय पाईरहेको छ भने अर्काेतिर यौन हिंसाका घट्नाहरु पनि बढदै गईरहेका छन् ।
आधारभूत तहको शिक्षा प्राप्त नभएकै अवस्थामा एक अर्काप्रति छुटिनै नसकिने गरी लाएको माया र असुरक्षित अवस्थामा गरिएको शारीरिक सम्बन्धले उनीहरुलाई विवाहको बन्धनमा जोडिन बाध्य बनाउछ । २० वर्षमुनीको विवाहलाई राज्यले गैह््र कानुनी विवाहको दर्जामा राखेका कारण औपचारिक रुपमा उनीहरुले विवाह नगरी लिभिङ्ग टुगेदरकै रुपमा जीवन निर्वाह गर्न बाध्य हुन्छन् ।
गैह््र सरकारी संस्थाहरुको सर्वेक्षण र वडा कार्यलयको तथ्याक अनुसार हरेक वर्ष बालविवाहका घटना हुने र रोकिने क्रम जारी छ । प्रहरीको सहयोगमा दुवैपक्षका अभिभावकको रोहबरमा केटा केटीलाई सम्झाई बुझाई विवाह रोकिने गरिन्छ । त्यस्ता जोडीले प्रहरी समक्ष उमेर २० वर्ष नपुगुन्जेल सँगै नबस्ने प्रतिवद्धता पनि जनाउछन् । सम्झौता गरी घर फर्कि सकेपछि बैधानिक रुपमा विवाह नगरी सँगै बस्नेहरुको जमात भने निकै ठुलो संख्यामा रहेको छ । त्यो न राज्यलाई जानकारी हुन्छ न त्यसतो तथ्याँक कुनै सामाजिक संघसंस्थाले राख्ने गरेका छन् ।
लिभिङ्ग टुगेदरकै कारण केही कानुनी जटिलताहरु थपिएका छन् । २० वर्ष उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने र अर्काेतिर त्यही अवस्थामा जन्मिएका बच्चाको जन्मदर्ता गर्नुपर्ने । राज्यबाट उपलब्ध गराईने सेवा सुविधा प्राप्तिका लागि बच्चाको जन्मदर्ता अनिवार्य गरिएको छ भने अर्काेतिर बच्चा जन्मिना वित्तिकै उसको नाम र जन्मदर्ताको हक बालबालिकाको नैसर्गिक अधिकार भित्र पर्छ । बच्चाको जन्मदर्ता हुन्छ तर बाबु आमाको विवाह दर्ता हुदैन् । विवाह दर्ता नभए केटीको नागरिकता बन्दैन् । कानुनी मान्यताविनाको त्यस्तो विवाहले महिलाहरुमा थप समस्याको सिर्जना गरिदिएको छ ।
हाम्रो सामाजिक संस्कारका कारण विवाह रोकिएका बालक भन्दा बालिकाले समाजमा थप चुनौती झेल्नु परेको छ । एक अर्काप्रति माया बस्छ । विवाह गर्ने, संगै जीउने र संगै मर्ने निधो गरेका हुन्छ्न। त्यही अवधिमा विवाह पूर्वनै उनीहरु बीच शारीरिक सम्बन्ध भई सकेको हुन्छ । विवाहले औपचारिक मान्यता नपाउदै जब उनीहरुको सम्बन्ध रोकिन्छ त्यसपछि बालिकाले समाजमा विभिन्न तिरस्कारहरु भोगिरहेका हुन्छन् । केटाले जति वटा विहे गरी पनि समाजले पचाउछ । तर केटिको कसैसँग सम्बन्ध भएको हल्ला चल्ने वित्तिकै पुन ः उसको अर्काे केटा सँग विवाह हुने सम्भावना घटेर जान्छ । एकातिर पढाई विचमै रोकिने र अर्काेतिर सामाजिक प्रतिष्ठामा आघात पुगी जीवन वर्वाद सम्म हुने सम्भावना भएका कारण विवाह रोकेर गरिएको पुनर्मिलन पश्चात पनि उनीहरु अलग अलग बस्न रुचाउदैनन् ।
बालविवाह हुने कारणहरु
कुनै एउटा मात्रै कारणले बालविवाह हुन्छ भन्न सकिन्न । वालविवाह हुनुमा धेरै कारणहरुले असर गरेको विभिन्न अध्ययन र सर्वेक्षणले देखाएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा नहुनु पनि एउटा कारण हो । उ हरेक वर्ष कक्षामा असलफल हुन्छ । उमेर बढ्दै गएपछि पुनःत्यही कक्षा दोहो¥याएर अध्ययन गर्न रुचाउदैन । त्यसपछि उसले विकल्पको रुपमा विवाह रोज्ने गर्छन् । आधारभूत शिक्षा हासिल गर्न सक्दैन्न । माध्यामिक शिक्षा पनि राम्रोसँग अध्ययन गर्न नसक्ने र माथिल्लो शिक्षा अध्ययनका लागि कुनै टुङ्गो नलागेका त्यस्ता जोडीले वालविवाह गर्ने गरेका छन् । यौन र प्रजनन स्वास्थ्यको बारेमा राम्रो अध्ययन नहुनु पनि अर्काे कारण हो । माया, प्रेम, सम्बन्ध र परिवारलाई अलग अलग रुपमा बुझने हाम्रो समाजिक संरचना नभएका कारणले पनि बालविवाहलाई प्रसय दिइरहेको छ । प्रेम हुदैमा यौन सम्पर्क हुनुपर्छ भन्ने होइन । यौन सम्बन्ध हुदैमा विवाह गर्नुपर्छ भन्ने पनि छैन । तर समाजले यो कुरा बुझन र अहिलेको पुस्तालाई बुझाउन नक्नुको कारण वालविवाह हो ।
अर्काे मुख्य कारण आर्थिक अभाव र गरिवी पनि हो । अहिलेको विश्वव्यापिकरणले हरेक मान्छेका आवश्यकता र चाहनाहरुलाई बढाईदिएको छ । परिवारको सिमिति आम्दानीबाट त्यो पुरा गर्न सम्भव छैन् । हाम्रो परिवारिक संरचनामा विखण्डन बढ्दैछ । यस्ले गर्दा पनि बालविवाह निम्न मध्यम वर्गिय परिवारमा बढि हुने गरेको देखिन्छ । जो आर्थिक तथा सामाजिक रुपमा वहिस्कृत छन् । अर्काेतिर आर्थिक अभाव र गरिवीले पनि बालबालिकालाई विवाह गर्न बाध्य बनाएको देखिन्छ । घरमा दैनिक गुजरा गर्ने माध्यम केही नभएपछि उनीहरुको रोजाई विवाह परेको हो । अभिभावकमा शिक्षाको अभाव, बालबालिकाप्रति हेरचाहको कमी, बढ्दो आधुनिक प्रविधि र जिवन निर्वाहको विकल्पका रुपमा बालविवाह किशोरकिशोरीको रोजाइमा पर्ने गरेको हो ।
अधिकारी लामो समय देखि दैलेख जिल्लामा बाल अधिकारको क्षेत्रमा कार्यरत छन् ।
nadhikari73@gmail.com